ठोरीमा बाघ तथा चितुवाको आतङ्क, एक वर्षमै ६० भन्दाबढी पशुचौपाया मा¥यो

वीरगंज । पर्साको ठोरीमा बाघ तथा चितुवाले घरपालुवा गाई, भैँसी, बाख्रालाई आक्रमण गरेर मार्न थालेपछि स्थानीय वासिन्दा चिन्तित भएका छन् ।
विगत एक वर्षयता ठोरी गाउँपालिकाकामा चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय बन क्षेत्रबाट साँझ पर्न नपाउँदै ग्रामीण बस्तीमा प्रवेश गर्ने बाघ तथा चितुवाले घरपालुवा जनावरलाई आक्रमण गर्ने क्रम बढेर गएको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनु भयो ।
विशेष गरी जङ्गलसँग सिमाना जोडिएका ग्रामीण बस्तीहरूमा बाघ तथा चितुवाले घरपालुवा जनावर माथि आक्रमण गर्ने गरेको र एक वर्षको अवधिमा झण्डै ६० भन्दा बढी पशुचौपायालाई मारेको श्रेष्ठले जानकारी दिनुभयो ।
ठोरी गाउँपालिकाको वडा नम्बर ४ मा चितुवाले स्थानीयको बाख्राको खोरमा प्रवेश गरी बाख्रा मार्न थालेपछि किसानहरू त्रसित बनेका छन् ।
चितुवाले मङ्गलबार राति वडा –४ को गुम्बालाईनका किसान हल बहादुर श्रेष्ठको खोरमा झम्टेर एउटा माउ बाख्रा मारेको कुसुमवाटिका मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष बुद्धलाल पाख्रिनले जानकारी दिनुभयो ।
यस्तै चितुवाले बुधबार राति सोही वडाकै मालीवस्तीको अलग अलग खोरमा झम्टेर स्थानीय दुई जना किसानले पालेको एउटा माउ बाख्रा र बोका मारेको छ ।
मालिवस्तीका किसान अक्कल बहादुर मुक्तान र शेर बहादुर बुढाथोकीको घरमा पालेको बाख्रा र बोकालाई चितुवाले मारेको हो ।
चितुवाले गाउँमा आतङ्क मच्चाउन थालेपछि पशुचौपायाको संरक्षणमा समस्या थपिएको भन्दै पशुपालक किसानहरुले चिन्ता व्यक्त गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्