मुद्रा–प्राणायाम पुस्तक सार्वजनिक

काठमाडौँ । सामाजिक सचेतन मञ्च प्राकृतिक चिकित्सा सेवा केन्द्रले प्रकाशन गरेको आरोग्यताको लागि मुद्रा–प्राणायाम पुस्तक आज काठमाडौँमा सार्वजनिक गरिएको छ ।
आरोग्यताका लागि मुद्रा साथै प्राणायामको महत्वलाई सविस्तार व्याख्या गरिएको सो पुस्तक प्राकृतिक चिकित्साका अध्यता डा.केशवप्रसाद सापकोटा र डा.विमला श्रेष्ठले तयार गर्नुभएको हो ।
पुस्तकको विमोचन गर्दै हिन्दू विद्यापीठका संस्थापक डा. चिन्तामणि योगीले अहिले देखिएका सामाजिक परिवेश र मानिसको प्रविधिप्रतिको बढ्दो लगावका बेला योग ध्यान जस्ता कुराको महत्व झन बढेको बताउनुभयो ।
उहाँले नेपालमा वेद, रामायण त्रिपिटक जस्ता ग्रन्थ र दर्शन जन्माउने देश भएको उल्लेख गर्दै कतिपय विकसित देशमा समेत हाम्रो योग र ध्यान पद्धतिबारे व्यापक चर्चा र चासो हुने गरेको बताउनुभयो ।
सो अवसरमा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले अहिले समाजमा देखिएको एक प्रकारका निराशालाई चिर्न पनि योग र ध्यान जस्तो कुराको आवश्यकता रहेकाले त्यसलाई चिर्न पुस्तक प्रभावकारी हुने बताउनुभयो ।
पुस्तकको समीक्षा गर्नुहुँदै गोरखापत्र संस्थानका नायव कार्यकारी सम्पादक राम प्रसाद हुमागाईँले उक्त पुस्तकमा अष्टाङ्ग योग, वायु, प्राणायाम, मुद्राको बारेमा मात्र नभै प्राकृतिक चिकित्सा विज्ञान लगायत समाज विज्ञान समेत भएकोले पुस्तक अध्ययन गरी व्यवहारमा उतार्न अत्यावश्यक रहेको बताउनु भयो ।
उद्धव पुडासैनीद्वारा सम्पादित सो पुस्तकमा आरोग्य जीवनका लागि पूर्वीय संस्कृतिमा विशेष महत्व दिइएको अष्टाङ्ग योगका विविध पक्षको व्याख्या गरिएको छ । साथै प्राणायाम गर्दा अपनाउनु पर्ने आसन, विधि जस्ता कुरा पनि सो पुस्तकमा समेटिएको छ ।







प्रतिक्रिया राख्नुहोस्