तपाईँ सुन्दै हुनुहुन्छः

‘नमिलेका कुरा मिलाएर सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय टुङ्गो लगाउनुपर्छ’

जनकपुरधाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा नमिलेका कुरा मिलाएर सङ्क्रमणकालीन न्यायका विषय टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ ।

एमाले महोत्तरी जिल्ला अधिवेशनको उद्घाटनका लागि जलेश्वर जाने क्रममा आज बिहान जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले पीडितलाई न्याय दिने गरी विधेयक अगाडि बढाउन आफ्नो पार्टीको विमति नरहेको समेत प्रष्ट पार्नुभयो ।

प्रदेश सरकारलाई बाँकी अधिकार दिने सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा अध्यक्ष ओलीले प्रदेशले आफ्नो अधिकारको कुरा गर्दा स्थानीय तहलाई बिर्सिन नहुने धारणा राख्नुभयो । उहाँले पाएका अधिकारको सही सदुपयोग गरेमा जनता आफैँले प्रदेशका अधिकारका कुरा उठाउने भन्दै त्यो विश्वास जगाउन प्रदेश सरकारले काम गर्न नसकेको पनि आरोप लगाउनुभयो ।

“प्रहरी र कर्मचारी नभएकाले प्रदेशले काम गर्न नसकेको गुनासो मैले पनि सुनेको छु”, ओलीले भन्नुभयो, “सङ्घीयताको सबलीकरणका लागि प्रदेशले राम्रो काम गर्न लाग्नुपर्छ । जनताले प्रदेश चाहिएन भनेर प्रश्न उठाउने ठाउँ दिनुहुँदैन ।”

त्यस्तै, अध्यक्ष ओलीले पूर्व राजाका गतिविधिलाई राजनीतिक पार्टी खोल्ने तयारीको पूर्व अभ्यासका रुपमा टिप्पणी गर्दै त्यसबारे कसैले चिन्ता गर्न जरुरी नरहेको धारणा समेत राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button