जनकनन्दनीका २ सय ४१ परिवारलाई कम्बल वितरण
जनकपुरधाम । जिल्ला विपत् व्यवस्थापन समितिले धनुषाको जनकनन्दनी गाउँपालिकामा २ सय ४१ गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।
मधेश प्रदेश सरकारले उपलब्ध गराएको २ हजार कम्बलमध्ये समितिले जनकनन्दनीको वडा नं. ३ र ४ का २ सय ४१ परिवारलाई वितरण गरेको हो ।

मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले उपलब्ध गराएको कम्बल वार्ड नं ३ र ४ को प्रखे, महुवा र खजुरीका अति विपन्न परिवारलाई वितरण गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रजिअ पाण्डे, प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा, सशस्त्र प्रहरी, नेपाली सेनाको उपस्थिति रहेको थियो । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले छनौट गरेको आधारमा जिल्ला विपत् व्यवस्थापन समितिले कम्बल वितरणलाई निरन्तरता दिएको छ ।
यस अघि माघ १२ गते सबैला नगरपालिका आँखा प्राथमिक उपचार केन्द्र, वार्ड नं. ११ इनर्वा, वार्ड न १० गेरूवाही, मिसरपट्ट, अमरखाना, वार्ड ९ को सतोषर, वार्ड २ सबैला, वार्ड ३ महराटोल, वार्ड ७ मठिमुसहरी, वार्ड १ मुसहरी टोल, वार्ड १३ किरतपुरकामा रहेका विपन्न, गरिब परिवार ३ सय ८६ जनालाई कम्बल वितरण गरिएको थियो ।

यस्तै गणेशमान चारनाथ नगरपालिकाको वार्ड नं २ को मुसहरी टोल, लखनपुर, राधापुर, केराबारी पासमान टोल, वार्ड ३ को श्रीरामपुर, वार्ड ४ पथराइ, वार्ड नं. १ को महरा टोल, वार्ड ७ पासमान टोल, झापाली टोल, वार्ड ९ को महरा टोल, जयनगर टोल गरी १ सय ४० जनालाई १÷१ थान कम्बल वितरण गरेको प्रजिअ पाण्डेले बताए । कम्बल वितरण अभियानको शुरुआत धनुषाको मिथिला नगरपालिकाबाट मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री मोहम्मद समीमले गर्नुभएको थियो ।
विगत केही दिन यता मधेश प्रदेशका जिल्लाहरूमा चिसो हावासँगै चलेको शितलहरका कारणले मधेश प्रदेशका जिल्लाहरूको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ ।







प्रतिक्रिया राख्नुहोस्