अपराध अनुसन्धान प्रक्रिया छिटोछरितो एवं पारदर्शी हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । आधुनिक ज्ञानको प्रयोगबाट अपराध अनुसन्धान प्रक्रिया सहज बनाउने उद्देश्यले विराटनगरमा आधुनिक समाजमा विधि विज्ञान र वैज्ञानिक प्रमाणको प्रयोग विषयक तालिम आजदेखि शुरु भएको छ ।
मुख्यन्यायाधिवक्ता कोशी प्रदेश कार्यालयको आयोजनामा भएको तालिममा कोशी प्रदेशका अस्पताल नेपाल प्रहरी, जिल्ला तथा उच्च अदालतलगायत अपराध अनुसन्धानमा संलग्न मातहतका कार्यालयका अनुसन्धान अधिकृत तथा सरकारी वकिलहरूको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्नुहुँदै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकहरूले छिटो छरितो एवं सही रुपमा न्याय पाउन अपराध अनुसन्धान प्रक्रिया सहज र वैज्ञानिक हुनुपर्ने बताउनुभयो ।
उहाँले नयाँ प्रविधिको विकाससँगै आधुनिक तवरका अपराधका घटना वृद्धि भइरहेको अवस्थामा आपराधिक घटनामा संलग्नलाई जतिसक्दो चाँडै कानुनको दायरामा ल्याउन आधुनिक ज्ञान र प्रविधिको माध्यम अपनाएर अनुसन्धान प्रक्रिया अघि बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले विभिन्न प्रविधि अपनाएर समाजमा अपराधका घटना गर्नेहरू अझै पनि सबुत तथा प्रमाणको अभावमा कानुनी दायरामा आउन नसकेको भन्नुहुँदै उनीहरुलाई कानुनी दायरामा ल्याउन अपराध अनुसन्धान प्रक्रियालाई चुस्त दुरुस्त र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले अपराधका घटना घटेपछि निष्पक्ष र प्रभावकारी अनुसन्धान हुन नसक्दा नागरिकहरूले न्याय पाउन नसकिरहेको अवस्थामा पोस्टमार्टम गर्दा होस् वा घटनाको अनुसन्धान गर्दा त्यस्ता विषयमा अध्ययन अनुसन्धान पारदर्शी हुनु जरुरी रहेको बताउनुभयो ।
उहाँले अपराध गर्नेलाई कुनै पनि प्रकारको छुट वा उन्मुक्ति पाउने कुरा कुनै पनि हालतमा मान्य नहुने भएकाले सम्बन्धित व्यक्तिहरूले आफ्नो काम कर्तव्य जिम्मेवारी इमानदारिताका साथ पुरा गर्नुपर्ने बताउनुभयो ।
कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता रुपेश कोइरालाले आधुनिक र वैज्ञानिक प्रविधिबाट अनुसन्धान प्रक्रियालाई अगाडी बढाउन मद्दत पुगोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरेका बताउनुभयो । अपराध गर्ने हरुले जस्तोसुकै नयाँ प्रविधि अपनाएर अपराध गरे पनि उनीहरूले कानुनी रुपमा उन्मुक्ति पाउन नसक्ने उहाँको भनाई थियो ।
सो अवसरमा प्राध्यापक डा. हरिहर वस्तीले कार्यक्रमको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । तालिममा डा..राजेश साह, डा. ज्वाला कँडेल, डा .मनोज लिम्बु, डा.सुम्मिठा धौमडेल तथा डा.दिक्षान्त पोखरेलले प्रशिक्षण दिनुहुने मुख्यन्यायाधिवक्ता कोइरालाले बताउनुभयो ।
तीन दिनसम्म चल्ने सो तालिममा ३५ जनाको सहभागिता रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्