तपाईँ सुन्दै हुनुहुन्छः

‘समृद्धिका लागि नेपाल र भारतबीचको सहकार्य मजबुत हुनुपर्छ’

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नजिकको छिमेकीका रुपमा नेपाल र भारतको विगत, वर्तमान र भविष्य जोडिएको बताउनुभएको छ ।

आफूसँग भेट गर्न आज लैनचौरस्थित उपराष्ट्रपति निवास पुग्नुभएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा उहाँले दुई देशका जनताको प्रगति र समृद्धिका लागि मित्रता तथा सहकार्य थप मजबुत हुनुपर्ने बताउनुभयो ।

छिमेकीलाई प्राथमिकता दिने भारतको नीतिले भारतले आफ्ना छिमेकी राष्ट्रलाई दिएको प्राथमिकता र महत्वलाई प्रतिविम्बित गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले उच्चस्तरीय भ्रमणको आदान–प्रदानले दुई मुलुकबिचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले नेपाल-भारतबीच दीर्घकालीन ऊर्जा व्यापार लगायत सम्झौता हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

भेटमा भारतीय राजदूत श्रीवास्तवले दुई मुलुकबीच बहुआयामिक सम्बन्ध रहेको उल्लेख गर्दै भारत सधैँ नेपालको विकास यात्रामा सहयोगी रहेको र आगामी दिनमा पनि रहिरहने बताउनुभयो ।

राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालसँग विशेष लगाव रहेको जनाउँदै सन् २०२४ मा भारतका विदेशमन्त्रीको पहिलो अन्तर्राष्ट्रिय भ्रमण नेपालबाट हुनुले भारतले नेपाललाई दिएको महत्व र प्राथमिकतालाई दर्शाएको बताउनुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button