काठमाडौँ शिक्षालय ललितपुरको साताव्यापी खेलकुद कार्यक्रम सम्पन्न

काठमाडौँ । काठमाण्डौं शिक्षालय ललितपुरले शैक्षिक सत्र २०८०/०८१ को साताव्यापी खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।
यही पुस २४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको साताव्यापी खेलकुद कार्यक्रमको समापन कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलले विभिन्न खेल प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण गर्नुभयो । उक्त अवसरमा उहाँले खेलकुदमा सहभागी विद्यार्थीहरूलाई चार सयभन्दा बढी प्रमाणपत्र तथा मेडल वितरण गर्नुभयो ।
उहाँले नगरको उदाउँदो विद्यालयका रुपमा रहेको काठमाडौँ शिक्षालय ललितपुरले गुणस्तरीय शिक्षाका साथै खेलकुदमा समेत ध्यान दिएकोमा खुसी व्यक्त गर्नुहुँदै बालबालिकाहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद महत्त्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा पर्वतारोही प्रकाश राज पाण्डेले आफूले गर्दै आएको पर्वतारोहण र खेलकुदमा धेरै समानता भएको बताउनुभयो । पर्वतारोहणमा पनि टिमवर्कको निकै महत्त्व हुने र खेलकुदमा पनि जित्नको लागि सहकार्य आवश्यक रहने उल्लेख गर्नुहुँदै उहाँले साना भाइबहिनीहरूले जीवनमा सफलता आत्मसाथ गर्न अनुशासन उतिकै आवश्यक रहेको बताउनुभयो ।

शिक्षालयका विद्यार्थी बालबालिकाहरूमा खेल भावना विकास गर्दै उनीहरूको जीवनमा समेत सहकार्य, समन्वय र एकआपसमा सहिष्णुताको बीजारोपण गर्ने उद्देश्यले ३९ विभिन्न खेल विधाहरूमा विद्यार्थीहरूलाई प्रतिस्पर्धा गराइएको थियो ।
कार्यक्रममा विभिन्न खेलका खेलाडीहरू निर्णायक रहनुभएको थियो भने विद्यालयका शिक्षक तथा कर्मचारीहरूले सहजीकरण गर्नुभएको थियो ।
शिक्षालयले बालबालिकाहरूलाई नियमित रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै सानै उमेरमा बालबालिकाहरूलाई स्वस्थ प्रतिस्पर्धामा सहभागी गराई उनीहरूमा निहित क्षमता अभिवृद्धि गर्न विशेष ध्यान दिँदै आएको छ ।
शिक्षालयले समय समयमा खेलकुद कार्यक्रम आयोजना गर्ने र बाहिरका प्रतियोगितामा समेत आफ्ना प्रतिभाशाली विद्यार्थीलाई सहभागी गराउने जनाएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमलता श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियाे ।
समापन कार्यक्रममा ललितपुर तेक्वान्दो संघका उपाध्यक्ष शरण महर्जन, स्थानीय टोल सुधार समितिका अध्यक्ष एवं शिक्षाविद् राजेश ढकाल लगायतको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्