तपाईँ सुन्दै हुनुहुन्छः

घटना भएको तीस वर्षपछि ज्यान कसुरका पाँच प्रतिवादी पक्राउ 

भोजपुर । २०५० सालमा भएको कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दाका फरार पाँच प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले ३० वर्षपछि पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।  

कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दाका फरार पाँच प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले विभिन्न ठाउँहरूबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी सुदिपराज पाठकले बताउनुभयो । प्रहरी प्रमुख डिएसपी पाठकले घटना भएको लामो अवधिसम्म पनि फरार रहेका अभियुक्तहरूलाई विभिन्न स्थानहरूबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन भोजपुर प्रहरी सफल भएको बताउनुभयो । ललितपुर, उदयपुर, सुनसरी लगायतका जिल्लाबाट घटनामा संलग्न फरार प्रतिवादीहरूलाई पौष २२ गते पक्राउ गरिएको डिएसपी पाठकले जानकारी दिनुभयो । 

पक्राउ पर्नेहरूमा हालको भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय कृपाराज राई, सोही ठाउँका ४६ वर्षीय नगेन्द्र कुमार राई, ५५ वर्षका बिदुर कुमार राई, ५४ वर्षका भिमराज राई र ४२ वर्षका थिरकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खटिएको प्रहरी टोलीले कृपालाई ललितपुर, नगेन्द्र धरान, बिदुर उदयपुरको बेलका, भिममराज उदयपुर र थिरकुमारलाई ललितपुरबाट पक्राउ गरेको हो । 

घटनामा संलग्न भएर फरार रहेका भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई गत पौष १४ गते नै प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो भने हत्याका मुख्य प्रतिवादी शुक्रदेव राईको फरार रहेको अवस्थामा मृत्यु भई सकेको जानकारी आएकोले प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।  

प्रहरीका अनुसार २०५० साल मङ्सिर ३ गते शुक्रदेव सहितको संलग्नतामा साविक कोट गाउँ बिकास समितिका राजधन राईको खुकुरी प्रहार गरी हत्या गरिएको थियो । २०६१ साल भाद्र २८ गते जिल्ला अदालत भोजपुरले शुक्रदेवलाई २० बर्ष र घटनामा संलग्न अन्य सहयोगीहरूलाई तीन बर्ष कैदको सजाय सुनाएको थियो । 

२०५० कार्तिक २७ गते लक्ष्मी पुजाको दिन देउसी खेल्ने क्रममा प्रतिवादीहरू शुक्रदेव, पूर्णहाङ लगायत गरी २६ जनाले मृतकका दाजु जाहेरवाला बागधन राईसँग वादविवाद गर्दे राजधनलाई समेत कुटपिट गरेको घटनाका विषयमा मङ्सिर तीन गते छलफल गरी मिलाउने क्रममा पुनः वादविवाद भई राजधनलाई कुटपिट गर्नेक्रममा शुक्रदेव राईले खुकुरी प्रहार गरी हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button