तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा विधेयकमाथि सरोकारवालासँग परामर्श जारी

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा विधेयकमाथि सरोकारवालाहरूसँग सुझाव लिने क्रम जारी राखेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा निजी विद्यालय सञ्चालकहरूले शैक्षिक गुठीका रुपमा मात्र निजी लगानीका विद्यालय स्थापना र सञ्चालन गर्न सकिने तथा साधारण शिक्षाका अतिरिक्त, प्राविधिक शिक्षा प्रदान गर्न चाहेमा अनुमति दिन सकिने लगायतका शिक्षा विधेयकमाथि ३९ वटा संशोधन बुँदा पेस गर्नुभएको छ ।

बैठकमा उपस्थित भएर प्याव्सनका अध्यक्ष डिके ढुङ्गाना, एन प्याव्सनका अध्यक्ष पाण्डव हमाल र हिसानका अध्यक्ष रमेश सिलवालले संयुक्त रुपमा यो प्रस्ताव पेस गर्नुभएको हो ।

बैठकमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष गुणराज मोक्तानले सरकारले ल्याएको शिक्षा ऐनमा निजी र सार्वजनिक गरी दुई खालको शिक्षाको व्यवस्था गरिनु गम्भीर त्रुटि भएको बताउँदै सच्याउन आग्रह गर्नुभयो । उहाँले विद्यालयको परिभाषामा सार्वजनिक विद्यालय नभनी सामुदायिक विद्यालय भनिनुपर्ने, विधेयकले शिक्षक महासङ्घ लगायतका संघसंस्था जस्तै आफूहरूलाई पनि समेट्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा समितिका सभापति भानुभक्त जोशीले शिक्षा विधेयकमाथि सम्बन्धित सरोकारवालाहरुले दिएको सुझावलाई गम्भीर रुपमा लिएको बताउँदै सातै प्रदेशबाट उत्कृष्ट विद्यालयका प्रतिनिधि, मदरसा, गुम्बा र विशेष शिक्षा सञ्चालक र शिक्षाविद्सँग पनि छलफल गरिने जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button