तपाईँ सुन्दै हुनुहुन्छः

रैथाने खानाको प्रवर्द्धन गर्न नारायणगढमा रैथाने फुड फेष्टिबल

चितवन । चितवन । नारायणगढको क्याम्पाचौरमा रैथाने फेष्टिबल हुने भएको छ । रैथाने खानाको प्रवर्द्धन गर्ने र चितवनको आर्थिक गतिविधि चलायमान गर्ने उद्देश्यसहित फुड फेष्टिबल हुने भएको हो । पुष १४ देखि सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था होटल व्यवसायी चितवनले आज नारायणगढमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।  

अङ्ग्रेजी नयाँ वर्ष २०२४ तथा तमु ल्होसारको अवसरमा पुस १४ गतेदेखि १८ गतेसम्म फुड फेस्टिभल हुन लागेको हो । फुड फेस्टिभलमा रैथाने कोदो, गुन्द्रुक, थारु खाना, नेवारी खाना,थकाली खाना, चितवनको तास लगायतका परिकार गरी साना ठुला गरी ३९ वटा स्टल रहनेछन् । जसमा ३४ साधारण र ५ वटा विशेष स्टल रहनेछ फेष्टिबल संयोजक जनक पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार साधारण स्टललाई २० हजार र विशेष स्टललाई ४० हजार रुपैयाँ शुल्क राखिएको छ  । महोत्सवमा पाँच करोड भन्दा बढीको कारोबार हुने र ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संयोजक पौडेलको भनाई छ ।

फुड फेस्टिभलमा रैथाने खानेकुरालाई प्राथमिकता दिनुका साथै विविध सांस्कृतिक कार्यक्रमहरू पनि हुने संघका अध्यक्ष लोकनाथ भट्टले जानकारी दिनुभयो । दर्शकलाई थप आकर्षण  गर्न नेपाली कला संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न साङ्गीतिक कार्यक्रम राखिएको छ । 

भट्टका अनुसार फुड फेस्टिभलमा पशुपति शर्मा, प्रिती आले, अनु चौधरी, हास्य कलाकार सुबोध गौतम, सुप्रिम मल्ल ठकुरी, कर्णराज गिरी, प्रजापति पराजुली, स्वप्न सुमन, ढाकाराम पौडेल, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान चितवनका कलाकारहरू लगायत अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहने छ । सांस्कृतिक कार्यक्रम अवलोकन गर्न पुष १५ र १६ गते प्रति व्यक्ति ३०० को टिकट शुल्क राखिएको छ । 

शिथिल रहेको आर्थिक गतिविधि र पर्यटनलाई उकास्ने उद्देश्यसहित फुड फेस्टिभलको आयोजना गरिएको आयोजकको जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button