तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पुलिसद्वारा भारतको नोयडा ६ विकेटले पराजित

वीरगञ्ज । वीरगन्जको नारायणी रङ्गशालामा जारी प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले भारतको नोयडालाई ६ विकेटले पराजित गरेको छ ।

खेलमा पुलिस क्लबले १२.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

पुलिसका खेलाडी शङ्कर राणाले नटआउट रहँदै सर्वाधिक २३ बलमा ३८ रन बनाए । यस्तै, अर्का खेलाडी रसिद खानले २५ बलमा ३१ रन र दिलीप नाथले १४ बलमा आठ रन जोडे ।

नोयडाका बलर सञ्जीव चतुर्वेदीले तीन ओभरमा सात रन दिएर दुई विकेट लिए भने अर्को बलर हर्षित सेठीले तीन ओभरमा २७ रन दिएर एक विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको वन्डर क्लब नोयडा भारतले नेपाल पुलिस क्लबलाई ८६ रनको लक्ष्य दिएको थियो । खेलमा नोयडाले २० ओभरमा ६ विकेटको क्षतिमा ८५ रन बनाएको हो ।

पुलिसका बलर ललित राजवंशीले चार ओभरमा १० रन दिएर दुई विकेट लिए भने रसिद खानले चार ओभरमा २१ दिएर दुई विकेट लिएका थिए ।

यस्तै, शेर मल्ल र सागर ढकालले एक–एक विकेट लिए । शेर मल्लले चार ओभरमा १७ रन र सागरले चार ओभरमा १५ रन दिएका थिए ।

यस अघि आज भएको पहिलो खेलमा खेलमा त्रिभुवन आर्मीले सशस्त्र प्रहरीलाई २६ रनले पराजित गरेको छ । सशस्त्र प्रहरी १९ ओभरमा ८८ रन बनाएर अलआउट भएपछि आर्मी २६ रनले विजयी भएको हो ।

पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा आठ विकेटको क्षतिमा १ सय १४ रन बनाएको हो । खेलमा आर्मीका खेलाडी सन्तोष कार्कीले सर्वाधिक ३१ बलमा ३२ रन बनाएका थिए ।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र सशस्त्र प्रहरी सहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोयडाले प्रतिस्पर्धा गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button