तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै

सुदूरपश्चिम । पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ ।  

भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।  

गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव गणेश साउदले भारतबाट भित्रिने नागरिकमध्ये लक्षण देखिएकाको एन्टिजेन विधिबाट नमूना जाँच गर्दा आठ जनामा कोरोनाको सङ्क्रमण फेला परेको जानकारी दिनुभयो । 

“सङ्क्रमित चारको नमूना थप परीक्षणका लागि प्रदेशको प्रयोगशालामार्फत काठमाडौँ पठाइएको र चार सङ्क्रमितको नमूना आज पठाउने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “सङ्क्रमितमा कुन भेरियन्ट हो भनेर पत्ता लगाउन नमूनाको थप परीक्षण गर्न जरुरी भएको  हो ।” 

सीमा नाकामा सङ्क्रमित फेला पर्ने बिरामीलाई ‘होम आइसोलेसन’मा बस्न अथवा सिकिस्त बिरामीलाई अस्पताल जान सल्लाह दिइने र सम्बन्धित पालिकासँग पनि समन्वय गर्ने गरिएको साउदले बताउनुभयो । कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले केही दिनअघि सचेत गराइएको पनि साउदले बताउनुभयो ।

स्वास्थ्य निर्देशनालय, प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कमा भने पछिल्ला तीन दिनमा प्रदेशमा तीनजना कोरोना सङ्क्रमित फेला परेको उल्लेख गरिएको छ । 

पछिल्लो २४ घन्टामा गौरीफन्टा र गड्डाचौकी सीमा नाकाबाट भित्रिने नागरिकमध्ये शङ्कास्पद ७६ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा र पुस ८ गते दुई जनामा सङ्क्रमण फेला परेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button