तपाईँ सुन्दै हुनुहुन्छः

निकुञ्जको ऐन समयसापेक्ष परिमार्जन गर्नु आवश्यक : अर्थमन्त्री महत

चितवन । सौराहामा आजदेखि १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव मङ्गलवारदेखि शुरु भएको छ । महोत्सवको अर्थमन्त्री डा.प्रकाशशरण महतले एक भव्य समारोहबीच उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा मन्त्री महतले २०२९ सालमा जारी भएको निकुञ्ज ऐन परिमार्जन गर्ने बेला भएको बताउनुभयो । पुरानो निकुञ्ज ऐनले निकुञ्ज र जनताबीचको दुरी बढाउने काम गरेको उल्लेख गर्दै उहाँले निकुञ्ज ऐन परिवर्तनको लागि सरकारी पहल शुरु गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

अर्थमन्त्री महतले पूर्वी चितवनको विकासका लागि सरकारले पूर्वाधार निर्माणमा लगानी गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा चितवन क्षेत्र नं १ का सांसद हरि ढकाल र प्रदेश सांसद कृष्णप्रसाद खनालले आर्थिक मन्दीका कारण धरासायी बनेको व्यवसायलाई पुनर्जीवन दिन नयाँ आर्थिक नीति ल्याउन अर्थमन्त्री महतलाई आग्रह गर्नुभएको थियो ।

रत्ननगरका मेयर प्रह्लाद सापकोटाले सौराहामा १४ करोड २४ लाखको लगानीमा सुरु गरिएको नमुना सडकको काम बजेटका कारणले रोकिन सक्ने अवस्था आएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका पूर्व उपनिर्देशक युवराज रेग्मी, चितवन निकुञ्जका पशु प्राविधिक किरणराज रिजाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका वरिष्ठ रेन्जर ऋषिराम सुवेदीलाई संरक्षण पुरस्कार प्रदान गरिएको थियो ।

महोत्सव अन्तर्गत हात्तीसँग सम्बन्धित गतिविधि बुधवारबाट शुरु हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button