बाघको आक्रमणबाट पर्सामा युवकको मृत्यु
वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ थरकट्टीमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जबाट रातको समयमा गाउँ पसेको बाघले पटेर्वा सुगौली गाउँपालिका वाड नम्बर २ थरकट्टी टोल निवासी बाबुलाल महतो उरावका छोरा २० वर्षीय मनोज महतो उरावलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
गएराति घर नजिकै गहुँवारिमा शौच गर्न गएका मनोज राति अबेरसम्म घर नफर्किएपछि आज बिहान उनको खोजी गर्ने क्रममा खेत नजिकैको जङ्गलमा बाघले आक्रमण गरी मारेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो ।
घटनास्थलमा मनोजको टाउको र खुट्टा बाहेक शरीरको अन्य भाग बाघले खाएको अवस्थामा रहेको थापाले जानकारी दिनुभयो । मृतकको शवका टुक्रा परीक्षणका लागि वीरगंजस्थित नारायणी अस्पतालमा ल्याइएको थापाले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्