सबै पक्षलाई न्याय हुने गरी न्यायाधीशहरूको सिफारिस : प्रधानन्यायाधीश
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सबै पक्षलाई न्याय हुने गरी न्यायाधीशहरूको सिफारिस भएको बताउनुभएको छ ।
महान्यायाधिवक्ताको कार्यालयको ७३ औँ स्थापना दिवसका अवरमा आज ललितपुरमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले सबैलाई न्याय हुने गरी सक्षम र इमान्दार व्यक्तिहरू सिफारिस भएको बताउनुभयो ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश सिफारिस गर्दा सबै पक्षको प्रतिनिधित्व गराउने नाममा न्यायपालिका सञ्चालन गर्ने व्यक्ति सक्षम र इमान्दार हुनुपर्छ भन्ने मान्यतामा भने सम्झौता हुन नसक्ने समेत स्पष्ट पार्नुभयो ।
प्रधान न्यायाधीश श्रेष्ठले नेपालको फौजदारी न्याय प्रणालीलाई प्रभावकारी र विश्वसनीय बनाउन त्यसमा आबद्ध सबै संस्था र निकायको क्षमता अभिवृद्धिमा दिन र अन्तर्राष्ट्रिय स्तरमा विकसित मानक तथा अभ्यासहरूलाई समेत अभ्यासमा ल्याउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले कानुन नागरिकका अधिकार सुनिश्चित सबै निकायले इमानदारीपूर्वक आ–आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो ।
मन्त्री गुरुङले कानूनी व्यवस्था अनुरुप सबैले आ–आफ्नो जिम्मेवारी पुरा गरे सुशासन, विकास र समृद्धि जस्ता जनचाहानाहरू क्रमशः पुरा हुँदै जाने विश्वास व्यक्ति गर्नुभयो ।
नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयमा हुने ढिलासुस्ती तथा कमजोर अभियोजन प्रणालीका कारण दोषी उम्किने र निर्दोषले सजाय भोग्नुपर्ने अवस्था बढ्दै जाँदा नेपालमा फौजदारी न्याय मर्यो भन्ने अवस्था आएको बताउनुहुँदै यसको सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो ।
महान्यायाधिवक्ताको कार्यालयको ७३ औँ स्थापना दिवसका अवसरमा सहन्यायाधिवक्ता हरिप्रसाद शर्मालाई यस वर्षको सर्वोत्कृष्ट सरकारी वकिलको पुरस्कार तथा अन्य १० जनालाई उत्कृष्ट कर्मचारी पुरस्कारबाट सम्मान गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्