वृहत् खेलकुद तथा व्यापार महोत्सवको तयारी पूरा
मकवानपुर । मकवानपुरको खेल क्षेत्रको विकासको उद्देश्यसहित भोलीबाट हेटौँडामा सञ्चालन हुन लागेको बृहत् खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा भएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेष खड्गीले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
अध्यक्ष खड्कीका अनुसार महोत्सवको उद्घाटन वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नुहुने छ । महोत्सवमा खेलकुदका विभिन्न राष्ट्रिय, प्रदेश तथा जिल्ला स्तरीय प्रतियोगिता हुनुका साथै करिब २ सय ६० वटा व्यावसायिक स्टल रहने उहाँले बताउनुभयो ।
खड्कीले महोत्सवभर १३ वटा विधामा राष्ट्रिय, प्रदेश र जिल्ला स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताउनुभयो । उहाँका अनुसार मेला स्थलमै राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुनेछन् ।
महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उद्यान समेत राखिएको छ । महोत्सवमा जुवाजन्य क्रियाकलाप र मादक पदार्थ विक्री तथा सेवनलाई पूर्ण रुपमा निषेध गरिने उहाँले बताउनुभयो ।
खड्कीले महोत्सवमा दैनिक नेपालका चर्चित राष्ट्रिय कलाकारको साङ्गीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती रहने समेत बताउनुभयो ।
महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गरिने जनाइएको छ । महोत्सवबाट करिब २५ लाख रुपैयाँ प्राप्त हुने समितिको अनुमान छ ।







प्रतिक्रिया राख्नुहोस्