तपाईँ सुन्दै हुनुहुन्छः

परम्परागत मौलिक संरचना हराउँदै

मुगु । कर्णाली  प्रदेशको बिकट हिमाली जिल्ला मुगुमा परम्परागत कला  शैली र परम्परागत मौलिक संस्कृतिका संरचनाहरू हराउँदै जान थालेका छन् ।  जिल्ला बाहिरका निर्माण सामाग्रीको बढी प्रयोग हुन थालेपछि  परम्परागत शैलीका बस्तीहरूको कला, शैली मासिँदै जान थाले पछि गाउँ ठाउँका पुराना स्वरूपका संरचनाहरू  नै बदलिँदै गएका छन्  । 

प्राय जसो माटोले  घरका छतहरू छाउँदै आएकोमा बर्षाको पानीबाट घर  बचाउनका लागि  विभिन्न  रङ्गका जस्ता  पाताले छाउने  प्रचलन बढेपछि  परम्परागत मौलिक संस्कृति र परम्परागत संरचनाहरूको स्वरूप  हराउँदै  जान थालेका हुन् ।  नोलकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको  रारा ताल र रारा ताल आसपासका बस्तीहरूमा परम्परागत मौलिक संरचनाहरू  धमाधम परिवर्तन  गरिन थालिए पछि बस्तीहरूको स्वरूप  नै बदलिदा पर्यटन व्यवसायीहरू चिन्तित बनेका हुन् ।  

होम स्टे बन्न सक्ने गाउँहरूमा  केही सिमेन्टका घरहरू निर्माण हुँदै जान थालेका छन्  भने अधिकांश घरहरू जस्ता पाताले छाना छाउने गरिँदा गाउँ नै रङ्गीबिरङ्गी देखिएका हुन्  । आन्तरिक तथा बाह्य पर्यटक हरू नयाँ आधुनिक भन्दा  सफा सुग्घर अनि पुरानै शैलीका संरचनाहरू मन पराउने भएकाले  अन्य पुराना कला र शैली बचेका बस्तीहरूको परम्परागत मौलिक कलाका संरचना, शैली र संस्कृति जगेर्ना गरी जस्ताको तस्तै संरक्षण गर्न तिर सरोकारवाला पक्ष  लाग्नु पर्ने  बताइएको छ । 

पुरानै अवस्थामा जगेर्ना गरिएका संरचनाहरू बचाई राखेको खण्डमा  त्यस्तै पुरानै खाले संरचनामा विदेशी पर्यटक रमाउने भएकाले समुदाय स्तरमा जनचेतना जगाउने खालका कार्यक्रम हरू बस्ती स्तरमा  सञ्चालन गर्नु पर्ने  युवा पर्यटन व्यवसायी देवीकृष्ण रोकाया बताउनु हुन्छ ।  जस्तापाता घरमा मात्र हैन देवी देवताका मन्दिर ,थानमा पनि छाउने प्रवृत्ति बढेकाले जताततै  जस्तामय बन्दा भविष्यमा परम्परागत कला, संस्कृतिका संरचना खोजेर नभेटिने  अर्का पर्यटन व्यवसायी वीरेन्द्र बहादुर मल्लको भनाई छ ।  

गाउँघर तिर घरको सबैभन्दा माथिल्लो तला छतमा जस्तापाता छाएपछि  घरको छतमा उल्किने काठका लिस्ना समेत हराउँदै जान थालेका छन्  । यसको रोकथाम र नियन्त्रणका लागि कोही कसैको ध्यान नपुगेको स्थानीय युवा हरिकृष्ण ऐडीको गुनासो छ। यातायातको  सामान्य पहुँच पुगे सँगै मुगु जिल्लाका अधिकांश बस्तीमा   अबको करिब पन्ध्र वर्षमा समुदायका अधिकांश घरहरू सिमेन्ट र सरियाका बन्ने  देखिन्छ।  हिमाली भेगमा हिउँद ऋतुमा चिसोका कारण सिमेन्टका घरहरू  स्वास्थ्यको लागि त्यति लाभदायक नहुने भएकाले यसतर्फ सबैले सोच्नु पर्ने  नेपाल रेडक्रस सोसाइटी मुगु शाखाका सभापति योग गुरु जयबहादुर मल्ल बताउनु हुन्छ । मुगु जिल्लाका चारै वटा स्थानीय बस्ती हरू क्रमशः सके सिमेन्ट नसके जस्तामय बन्दै गएका हुन् ।

जिल्लाका परम्परागत  कला, संस्कृतिका संरचनाहरूलाई सम्पत्तिको रूपमा जगेर्ना गर्न सकेको खण्डमा पर्यटकीय स्थल मुगुमा  रारा हेर्न आउने पर्यटकहरू परम्परागत कला, संस्कृतिको  अवलोकन गर्न रारालगायत आसपासका बस्तीमा घुमफिर गरि पर्यटन प्रवर्द्धनको माध्यम बाट रोजगारीका अवसरहरू सृजना हुन सक्ने महाकाली नमुना माध्यमिक विद्यालयका पूर्व प्राचार्य एवं बुद्धिजीवी देवबहादुर मल्ल बताउनु हुन्छ ।  

मुगु जिल्लाका चार ओटै स्थानीय निकायहरूले पर्यटकीय सम्भावना बोकेका गाउँ ठाउँलाई पहिचान गरि  परम्परागत ढङ्गबाट बनेका संरचना जगेर्नाका लागि आफ्नो नीति तथा कार्यक्रम मार्फत अघि बढेको  खण्डमा परम्परागत मौलिक, कला र संस्कृति बचाउन सकिन्छ भन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button