तपाईँ सुन्दै हुनुहुन्छः

व्यापार मेलामा १० करोडको कारोबार

कास्की । पोखरा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ३२ औँ समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा १० करोडको कारोबार भएको छ । स्वदेशी उत्पादन को प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको मेलाको १ लाख ३५ हजार दर्शकले अवलोकन गरेको पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले जानकारी दिनुभयो ।

व्यापार मेलामा घरेलु मदिराको ब्राण्डिङ गर्ने देखि देशकै ठुलो अटो मेला समेत आयोजना गरिएको थियो । २ सय ५० स्टल रहेको मेला अर्थतन्त्र शिथिल वनेको अवस्थामा केही भए पनि व्यापारीहरूले आसाको त्यान्द्रो यो मेलाबाट भेटेका छन् । सुस्ताएको व्यापार र व्यवसायीहरूलाई ऊर्जा थपेको छ ।

स्थानीय रुपमा उत्पादन भएका कोदो र स्थानीय स्तरमै उत्पादन भएको मर्चाको प्रयोगबाट उत्पादन गरिएको घरेलु मदिरालाई निःशुल्क स्वाद परीक्षणका लागि राखिएको थियो ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मेला उद्घाटनको समयमा गाँजा र घरेलु मदिरालाई वैधानिकता दिन एक महिनाभित्र कानुन संसदमा टेबल गर्ने बाचा समेत व्यापार मेलामा गर्नुभयो । मुख्यमन्त्रीको उक्त अभिव्यक्तिपछि विगत केही वर्षदेखि घरेलु मदिरालाई ब्राण्डिङ गर्ने अभियानमा लागेकोले व्यवसायीहरू उत्साहित देखिएका छन् ।

पछिल्लो समय ग्याँसबाट हुने आगलागी कारण ठुलो मानवीय र भौतिक क्षति हुँदै आएको छ । दुर्घटना कम गर्न भन्दै गृहलक्ष्मी ग्यास कम्पनी प्रालिले व्यापार मेलामा स्टल नै राखेर उपभोक्तालाई ग्यासबाट हुन सक्ने क्षति र दुर्घटनाबारे सचेतनामूलक कार्यक्रम गरेको थियो ।

पोखरा उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने मेला नाफामुखीभन्दा पनि प्रवर्द्धनात्मक र रोजगारी सिर्जनामा केन्द्रित रहेको संघका अध्यक्ष पवन प्रजापतिको दाबी छ । पोखराको नयाँ बजारमा मङ्सिर २१ गतेदेखि पुस १ गतेसम्म भएको मेला परिसरमा छिर्नासाथ विभिन्न मोडलका गाडी तथा मोटरसाइकल हेर्नको भिड थियो ।

मेलामा महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्न मेला स्थलमै हस्तकला सम्बन्धी तालिमको व्यवस्था मिलाइएको थियो । व्यापार मेलामा भएको कारोबारले पोखरेली व्यवसायी उत्साहित देखिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button