चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई
म्याग्दी । सदरमुकाम बेनीमा शनिवार सम्पन्न बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ ।
विभिन्न २५ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा २२ स्वर्ण र पाँच रजत पदक सहित प्रकाश माविले उपाधि जितेको हो ।

गत वर्ष पनि प्रकाश माविले नै उपाधि जितेको थियो । प्रतियोगितामा कुल ६६ स्वर्ण पदकमध्ये अङ्क तालिकामा गणना हुने ३१ स्वर्ण पदकमा प्रकाश माविले मात्रै २२ स्वर्ण हात पारेको छ । प्रतियोगितामा विजेता प्रकाश माविलाई नगद रु ५१ हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा ५ स्वर्ण, १० रजत र २ कास्य पदकसहित द्धितिय हुन सफल न्यू वेष्ट पोइन्ट आवासीय मावि र २ स्वर्ण, १ रजत र २ कास्य पदकसहित तृतीय हुन सफल माउण्ट एभरेष्ट आवासीय माविलाई क्रमशः नगद रु ४० हजार र ३० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । विधागत रुपमा समेत प्रतियोगिताका विजेता र उपविजेताहरुलाई ट्रफि र मेडलद्वारा पुरस्कृत गरिएको छ ।
कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, प्रतियोगिताका संयोजक एवम् सामाजिक विकास समितिका संयोजक चक्र केसी, वडाध्यक्षहरू सहित जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवर्द्धन गर्न आयोजित प्रतियोगिताबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको लागि समेत खेलाडी छनौट भएकाले खेल अभ्यासलाई निरन्तरता दिन मेयर केसीले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबल, मार्सल आर्ट, एथलेटिक्स र कबड्डी विधाका विभिन्न ३७८ इभेन्टमा विद्यार्थीहरूबिच प्रतिस्पर्धा भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्