बर्दघाटको भटौलियामा अस्थायी प्रहरी पोष्ट स्थापना

नवलपरासी,पश्चिम I पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्थित वडा नम्बर १२ भटौलिया बजारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
लागुऔषध, तस्करी लगायतका अन्य अपराधको ट्रान्जिट पोइन्टको रूपमा रहेको सो क्षेत्रमा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पोष्टको स्थापना गरिएको हो । बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल एवम् प्रहरी प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले आज संयुक्त रूपमा प्रहरी पोष्टको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले महेशपुर र भुजहवा नाका हुँदै यहाँ बाट तस्करी लगायत अन्य अपराधका घटना बढ्दो देखिएकाले विगत १० वर्षदेखि नै यहाँ प्रहरी पोष्टको माग भएको उल्लेख गर्नु भयो । आम सर्वसाधारणको जिउधनको सुरक्षा एवम् लागूपदार्थ दुर्ब्यसनीको हब जस्तै बनेको यो क्षेत्रमा शान्ती सुरक्षा कायम गर्न प्रहरी पोष्टले अहम् भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । प्रहरी पोष्ट स्थापनाका लागि यहाँका पूर्व जनप्रतिनिधि, सरोकारवाला लगायत सम्पूर्ण जनप्रतिनिधिबाट विगत देखि नै पहल भएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, प्रहरी प्रमुख काजिकुमार आचार्य र बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नागरिक बिना बर्दिका प्रहरी भएकाले अपराध, हिंसा न्युनिकरकण गरी सभ्य समाज स्थापनका लागि प्रहरीको एक्लो प्रयास मात्र सम्भव नहुने भन्दै बिनाबर्दिका रूपमा रहेका आम नागरिकको पनि सहयोगले मात्र सभ्य समाजको स्थापना गर्न सकिनेमा जोड दिनु भयो । भारतीय खुला सीमा सँग जोडिएको यो क्षेत्र सुरक्षा र अन्य अपराधीक घटनाका हिसाबले संवेदनशील मानिँदै आएको छ । उक्त अस्थायी प्रहरी पोष्टमा आजदेखि नै असईको कमान्डमा ५ जनाको प्रहरी दरबन्दीले सेवा दिने छ । अस्थायी प्रहरी पोष्ट नेपाल रेडक्रस सोसाइटीको जग्गामा निर्माण गरिएको हो । बर्दघाट नगरपालिकाले झन्डै ४ लाख सहयोगमा प्रहरी पोष्ट निर्माण गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्