तपाईँ सुन्दै हुनुहुन्छः

‘कानुन नहुँदा जनचाहनाअनुसार काम गर्न सकिएन’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकार र कानुन नहुँदा चाहेर पनि काम गर्न नसकिएको बताउनुभएको छ ।

प्रदेश विकास समस्या समाधान समितिको आठौँ बैठक एवम् आव २०८० र८१ को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले प्रदेशलाई काम गर्न बनाइएका कानुन कार्यान्वयनका लागि सङ्घीय सरकारले बनाउनुपर्ने कानुन निर्माण नहुँदा समस्या भएको हो भन्नुभयो ।

सङ्घले कानुन नबनाउँदा प्रदेशले गाली खानुपरेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले निजामती सेवा ऐन, प्रहरी समायोजन ऐन, जग्गा प्राप्ति ऐन, शिक्षा ऐन आउला भन्ने आशा लागेको तर सङ्घीय सरकारबाटै यी विषय कार्यान्वयन नभएको गुनासो उहाँले गर्नुभयो । “सङ्घीयताको नाममा प्रदेशले यो भन्दा बढी गाली खाने अवस्था अब रहँदैन, चाहँदाचाहँदै अधिकार र कानुन नहुँदा काम गर्न सकिएको छैन”, उहाँले भन्नुभयो ।

सङ्घीय सरकारले कानुन निर्माण गरिदिनुपर्ने या सङ्घीयताको बारेमा पुनर्विचार गर्नुपर्नेमा जोड दिँदै उहाँले संविधान अनुसार एकल र साझा अधिकारको सूचीमा लेखिएको कुरालाई कानुन बनाएर लिपिबद्ध गरी अधिकार बाँडफाँट गर्दा मात्रै सङ्घीयता ‘सिस्टम’ मा जाने बताउनुभयो । सङ्घ सरकार र सङ्घीय सांसदले पनि प्रदेशलाई बनाइदिनुपर्ने कानुन निर्माणमा सहजीकरण नगरेको उहाँको गुनासो छ ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, सचिव बद्रीनाथ अधिकारी, विभिन्न मन्त्रालयका सचिवले प्रदेश स्तरका आयोजना कार्यान्वयनमा कतिपय सङ्घीय कानुनले अवरोध सिर्जना गर्दा आयोजना समयमा नै सम्पन्न हुन नसकेको लगायतका विषयमा बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button