आइसिसी यू–१९ विश्वकपको खेल तालिका परिवर्तन
काठमाडौँ । नेपालले आगामी महिना खेल्ने आइसिसी यू–१९ विश्वकपको खेल तालिका परिवर्तन भएको छ ।
श्रीलङ्का क्रिकेट बोर्ड आइसिसीको प्रतिबन्धमा परेपछि विश्वकप दक्षिण अफ्रिकामा सरेको थियो । दक्षिण अफ्रिकामा यू१९ विश्वकप आयोजना हुने भएसँगै खेल तालिका र मिति परिवर्तन भएको हो ।
समूह भने परिवर्तन भएको छैन । नेपालको समूह डी मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । विश्वकप अब १९ जनवरीदेखि ११ फेब्रुअरीसम्म हुने भएको छ ।
नेपालले पहिलो खेल २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्नेछ । २४ जनवरीमा नेपालले पाकिस्तानसँग खेल्नेछ । समूह चरणको अन्तिम खेल २६ जनवरीमा खेल्नेछ । हरेक समूहका शीर्ष तीन टोली सुपर ६ मा पुग्नेछन् ।
समूह ए मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् । समूह सी मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया छन् । समूह ए र डी का टोली सुपर ६ खेल्नेछन् । समूह बी र सी का सुपर सिक्समा हुनेछन् । हरेका समूहमा पुछारका टोलीले १२ देखी १६ औँ स्थानमा लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।
नेपाली युवा टोली हाल युएईमा एसिसी यू१९ एसिया कप खेलेको छ । सुरुवाती दुई खेलमा नेपाल अफगानिस्तान र पाकिस्तानसँग हारेको थियो ।
नेपालले अन्तिम खेल भारतसँग खेल्नेछ । उक्त खेलमा विशाल जित हात पार्न सके र अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराए सेमिफाइनल खेल्न सक्नेछ ।
एसिया कपबाट स्वदेश फर्किएपछि युवा टोली केही दिनको तयारीपछि विश्वकप खेल्न जानेछ ।







प्रतिक्रिया राख्नुहोस्