तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ला विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु

जुम्ला । कर्णालीकै व्यस्त जुम्ला विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ । लामो प्रयास र सङ्घर्षपछि विमानस्थल विस्तारको लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको हो ।

सरकारले चालू आर्थिक वर्षमा विमानस्थल विस्तारका लागि ४ करोड ४२ लाख बजेट छुटाएको छ । जग्गा अधिग्रहण बिना उक्त बजेट खर्च हुने स्थिति छैन । जग्गा अधिग्रहण बिना विमानस्थल विस्तार असम्भव जस्तै भएपछि विनियोजित ४ करोड ४२ लाख बजेट नागरिक उड्डयन प्राधिकरण जुम्लालाई उक्त बजेट,निल्नु न ओकल्नु भएको थियो ।

तर जग्गा अधिग्रहणको प्रक्रिया थालनी भएसँगै विमानस्थल विस्तार हुने आशा जागेको ।  विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले  जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको छ । 

नागरिक उड्डयन कार्यालय जुम्लाले आइतबार जग्गा अधिग्रहण तथा जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक चरणको सार्वजनिक सूचना प्रकाशित गरेपछि जग्गा अधिग्रहणको पहिलो चरण सुरु भएको  जुम्ला विमानस्थल कार्यालयका प्रमुख सन्तोष अधिकारीले जानकारी दिनुभयो ।

प्राधिकरणले जुम्ला विमानस्थल प्रमुख अधिकारीलाई जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउन ‘अधिकार प्राप्त प्रारम्भिक कारबाही चलाउने अधिकारी’ समेत तोकेको छ । जुम्ला विमानस्थल विस्तारका लागि कुल १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ ।  हाल जुम्ला विमानस्थल धावनमार्गको लम्बाई ६७० र चौडाई २० मिटर रहेको छ ।

विमानस्थल विस्तारका लागि धावन मार्गको ३५० मिटर पूर्वतिर र  ९२ मिटर पश्चिमतिर  जग्गा अधिग्रहण गर्नुपर्ने छ । हालको भन्दा ठुलो सिट क्षमताको जहाज अवतरण गराउन विमानस्थलको धावनमार्ग र,टर्मिनल भवन बनाउन लागिएको विमानस्थल प्रमुख अधिकारीले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘२०५१ सालमा निर्माण गरिएको टर्मिनल भवन जीर्ण बन्दै गएको छ । हरेक वर्ष थोरैधेरै बजेट आएपनि जग्गा अभावले एयरपोर्ट विस्तार हुन सकेको छैन । पछिल्लो वर्षमा जुम्लाका सबै सांसदहरूको पहलमा जग्गा अधिग्रहणको काम सुरु हुँदै छ ।’

जग्गा प्राप्ति ऐन, २०३४ को दफा ४ (१) को खण्ड (ख) बमोजिम विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन निर्माणका लागि धावन मार्गको पश्चिम र पूर्वतर्फ करिब १ ८३.८० रोपनी जग्गा अधिग्रहण गर्नु,पर्ने भएको हो ।

जुम्ला विमानस्थलको जग्गा अधिग्रहण गर्नका लागि प्राधिकरणलाई स्वीकृति प्रदान गर्नेबारे गत जेठ २ गते बसेकोको  मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । सोही निर्णय निर्णय कार्यान्वयनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेठ १० मै  नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउन पत्राचार गरेको थियो ।

विभिन्न निर्देशन तथा प्राधिकरणको चासो राखेपछि जुम्ला विमानस्थल  प्रमुखलाई प्रारम्भिक अधिकारी तोकी प्रारम्भिक कारबाही चलाउने र प्रारम्भिक अधिकारी तोकेर सम्बन्धित सरोकारवाला व्यक्तिको जानकारीका लागि जग्गा अधिग्रहणको सार्वजनिक गरिएको विमानस्थल प्रमुख सन्तोष अधिकारीले जानकारी दिए । उनका अनुसार सूचना प्रकाशनपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जग्गावाल तथा सरोकारवालाबीच चरणबद्ध छलफल चलाइने छ ।

जग्गा अधिग्रहणमा बजेटकै पिरलो
जुम्ला विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको प्रारम्भिक प्रक्रिया सुरु भएपनि बजेट अभावको पिरलो कायमै छ । जग्गा अधिग्रहणको प्रक्रिया थालेपनि बजेटको अझै टुङ्गो छैन ।

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा विमानस्थल विस्तारका लागि ४ करोड ४२ लाख विनियोजन गरेको छ । उक्त बजेट जग्गा अधिग्रहण बिना खर्च हुने स्थिति छैन । प्रक्रिया थालेपनि मुआब्जा दिने बजेट सुनिश्चित नभए सम्म जग्गा अधिग्रहण कार्य पनि अघि बढ्ने अवस्था देखिन्न ।

विनियोजित चार करोड ४२ लाख बजेटबाट धावनमार्ग विस्तार, जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण र अप्रोनदेखि जहाजसम्म जाने बाटो (टयाक्सी वे) लगायतका संरचना निर्माण हुने छन् । तर जग्गा अधिग्रहणको लागि भने बजेट अभाव कायमै छ ।

विमानस्थल विस्तारका लागि जम्मा १८३.८० रोपनी जग्गा अधिग्रहण गर्दा सरकारी रेटमै मुआब्जा दिन पनि करिब ४८ करोड बजेट आवश्यक पर्छ । तर यति ठुलो बजेट सरकारले सहजै दिने स्थिति छैन । जग्गा अधिग्रहणको बजेट जुटाउन पहल नभएको हैन । तर सरकारले विभिन्न कारण देखाउँदै बजेट दिएको छैन ।

जुम्लाकी सांसद कान्तिका सेजुवालले बजेट व्यवस्थापनका लागि केन्द्रमा पहल भएपनि बजेटको विषय अझै टुङ्गोमा नपुगेको बताउनुभयो । उहाँले भन्नुभयो,‘प्राधिकरणकै डिजाइन स्टमेटनुसार १८३.८० रोपनी जग्गा अधिग्रहण गर्दा मुआब्जाका लागि ४८ करोड बजेट आवश्यक पर्ने छ । पहिलो चरणमा कम्तीमा पनि १५/२० करोड छुटाउन दिन पहल गरेकी छु । अब जग्गा अधिग्रहणको प्रक्रिया पनि सुरु भयो । सरकारले बाध्यकारी भएर पनि बजेट दिनुपर्छ ।’ 

विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको प्रक्रिया सम्म आइपुग्दा निकै पापड पेल्नु परेको थियो । बजेट जुटाउनु फलामको चिउरा पचाउनु जत्तिकै छ । जग्गा अधिग्रहण बिना विनियोजित बजेट निल्नु न ओकल्नु भएको छ । यो अवस्था कर्णालीको पर्यटन सम्भावना तथा यात्रुको चापलाई मध्यनजर गरि सरकारले बजेट व्यवस्थापनमा ध्यान दिनुपर्ने सांसद सेजुवालको भनाई छ ।

जुम्ला विमानस्थल विस्तार, हवाई इन्धनको डिपो स्थापनापछि जुम्ला विमानस्थल कर्णाली प्रदेशको पर्यटन हब बन्ने सम्भावना छ । जुम्लाबाटै हुम्ला, डोल्पा मुगु पुग्ने पर्यटकहरूलाई समेत सहज हुने छ । कर्णालीमा हवाई सेवा सहज नहुँदा पर्यटन क्षेत्र प्रभावित हुँदै आएको छ । 

२०७६ सालदेखि वर्षेनी एयरपोर्ट विस्तारको बहस चलेपनि बल्ल काम हुन थालेको छ । सबै दलहरूले सकारात्मक भूमिका खेलेको खण्डका केही वर्षमा  एयरपोर्ट विस्तार हुने सम्भावना छ । जग्गा अधिग्रहणका लागि बजेट विनियोजन नभएको खण्डमा विस्तारका लागि विनियोजित ४ करोड फिर्ता हुने स्थिति छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button