अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि इन्डोनेसियाका रामा तेगुलाई
कास्की । ११ देशका खेलाडीको सहभागिता रहेको अन्तर्राष्ट्रिय माउन्टेन बाइक पोखरा एन्ड्युरोको उपाधि इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले हात पारेका छन् । उनले ५ स्टेज (ट्रयाक)को ११.२० किमीको दुरी ९ मिनट ५९ सेकेन्ड ५२ मिलिसेकेण्डमा पार गरे ।
विभिन्न ७ विधामध्ये इलिट पुरुष तर्फको उक्त विधामा उपाधि हात पार्दै रामाले नगद ५० हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

सोही विधामा युकेका क्रिस्टोफर किलिङले दोस्रो र नेपालका प्रचित थापा मगरले तेस्रो स्थान बनाउन सफल भए । किलिङले सोही दुरी १० मिनट १६ सेकेन्ड ९७ मिलिसेकेण्डमा पार गरे भने प्रचितले १० मिनट ३६ सेकेन्ड १३ मिलिसेकेण्डमा पार गरे । यससँगै किलिङले नगद ३० हजार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे भने प्रचितले नगद २० हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे ।
महिलातर्फ भने नेपालकी लक्ष्मी मगरले प्रथम, नेपालकै मिङ्गमा याङ्जी शेर्पाले दोस्रो र सिंगापुरकी इभोना सियाले तेस्रो स्थान हासिल गर्न सफल भए । उनीहरूले १० किमी ५०० मिटरको दुरी क्रमशः ९ मिनट ५३ सेकेन्ड ४८ मिलिसेकेण्ड, ११ मिनट २५ सेकेन्ड ३१ मिलिसेकेण्ड र १५ मिनट ३५ सेकेन्ड ३६ मिलिसेकेण्डमा पार गरे । योसँगै उनीहरूले क्रमशः नगद ३५ हजार, २५ हजार र १५ हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे ।
१८ वर्षसम्मका पुरुष जुनियरतर्फ नेपालका विपुल थापा प्रथम भए । उनलाई पछ्याउँदै अमेरिकाका एलिजा स्टेवार्ड दोस्रो र नेपालका दिपेश थापा तेस्रो भए । उनीहरूले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।

त्यस्तै ३० देखि ३९ वर्ष समूहका लागि मास्टर्स ‘क’ विधामा राजन भण्डारी प्रथम, मङ्गल लामा दोस्रो र कुंगा वोसेर तेस्रो हुन सफल रहे । तीनै जना नेपालका खेलाडीले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।
४० देखि ४९ वर्षसम्मका लागि मास्टर्स ‘ख’ विधामा सुरज पाण्डेले प्रथम, रवि कार्कीले दोस्रो र नारायण मानन्धरले तेस्रो स्थान बनाउन सफल भए । उनीहरू सबै नेपाली हुन् । उनीहरूले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।
५० वर्षभन्दा माथिका समूहका लागि भेट्रान विधातर्फ लाल आले, सुलोचन राजभण्डारी र शैशव प्रधान क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । नेपालका उनीहरूले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।
नेपालमै पहिलो पटक आयोजना भएको ‘इ–बाइक’ विधामा प्रशन्न गौतम प्रथम हुन सफल भए भने विश्वास मोदी दोस्रो भए । उनीहरूले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।
माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा तीन दिनसम्म पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–विजय डाँडा (महाप्रभु धाम)मा प्रतियोगिता सम्पन्न भएको हो । विगत ४ वर्षदेखि आर्वामा तयारी गर्दै आएको थियो । उक्त स्थानमा प्रतियोगितालाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपालसहित ११ देशका ५६ खेलाडीले सहभागिता जनाएका थिए ।







प्रतिक्रिया राख्नुहोस्