पच्चीस हजारभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
काठमाडौँ । ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ मा करिब २५ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा भएको प्रदर्शनीको उपभोक्ताले नेपालका नवप्रकाशन, विदेशी चर्चित तथा धार्मिक पुस्तक रुचिका साथ खरिद गरेको पाइयो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य एवं प्रदर्शनी आयोजक समितिका संयोजक राजेन्द्र तिवारीले इतिहासमै पहिलो पटक व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको पुस्तक प्रदर्शनी आयोजना गरिएको प्रतिक्रिया दिनुभयो । नेपालसहित विश्वका १५ देशका प्रकाशक, उत्पादक र व्यवसायीको सहभागिता रहेको प्रदर्शनीमा हरेक दिन पाँच हजारभन्दा बढीले प्रदर्शनीको अवलोकन गरेको उहाँले जानकारी दिनुभयो ।
प्रदर्शनीका क्रममा हरेक दिन पठन संस्कृतिसम्बन्धी गोष्ठी गरिएको छ । जहाँ सरकारी अधिकारी, व्यवसायी, राजनीतिक दलका नेता एवं सरोकारवालालाई आमन्त्रण गरेर पठन संस्कृतिको प्रवर्द्धनमा तपाईँको भूमिका के भनी बहस र अन्तरक्रिया चलाइएको थियो ।
प्रदर्शनीको अवलोकनका क्रममा भेटिनुभएका नेकपा (एमाले)का सचिव छविलाल विश्वकर्माले पठन संस्कृतिलाई संरक्षण गर्दै यसलाई थप विकसित गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
यस्ता प्रदर्शनीलाई नियमित रूपमा आयोजना गर्न र राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उहाँले पठन संस्कृतिको विकास र विस्तारका लागि प्रत्येक पालिकामा पुस्तकालय स्थापना गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
साङ्ग्रिला बुक्सका प्रतिनिधि युवराज घिमिरेले ‘ऐठन’लगायतका नवप्रकाशन सबैभन्दा बढी उपभोक्तामा चासो देखिएको र सबै पुस्तकमा लगभग २० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो । विद्यार्थी पुस्तक भण्डारका प्रतिनिधि समिर आचार्यका अनुसार ‘निर्णयसिन्धु’, ‘धर्मसिन्धु’ र ‘हिम्मतखण्ड’ अन्यको तुलनामा बढी बिक्री भएको प्रतिक्रिया दिनुभयो ।
प्रदर्शनीको अन्तिम दिन आज आकर्षणका रूपमा मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल रहनुभएको थियो । उहाँ आफ्नो नवप्रकाशन ‘जीवन्त सम्बन्ध’ नामक कृति खरिदका लागि आएका उपभोक्तालाई आफ्नो हस्ताक्षर दिन भ्याइनभ्याई अवस्थामा देखिनुभयो । पुस्तक खरिद गर्नेहरू डा अनिलसँग तस्वीर खिचाउन तँछाडमछाड गरिरहेका थिए । प्रदर्शनी कक्षको उत्तरपूर्वी क्षेत्रमा रहेको चिनियाँ प्रकाशनका स्टल निकै व्यवस्थित आकर्षक देखिन्थे । जहाँ उपभोक्ता पुस्तक रुचिका साथ अवलोकन गर्न र तस्वीर लिन व्यस्त देखिन्थे ।
बिएण्डडी एजुकेसन च्यासल ललितपुरका सञ्चालक कुमारप्रसाद घिमिरेले डा भेषबहादुर थापाको हालै प्रकाशित कृति ‘राष्ट्र–परराष्ट्र’को खोजी गर्ने उपभोक्ता बढी रहेको बताउनुभयो । प्रदर्शनीमा दक्षिण एसिया क्षेत्रका नेपाल, चीन, भारत, बङ्गलादेश लगायत संयुक्त राज्य अमेरिका, इजिप्टसहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरक गरी एक सय ८० स्टल रहेको महासङ्घका अध्यक्ष सञ्जय चौधरीले बताउनुभयो । प्रदर्शनी अवलोकनका लागि राजनीतिज्ञ, प्राध्यापक, बुद्धिजीवी, लेखक, वकिल, पत्रकार, शिक्षक, विद्यार्थी र अभिभावकको पाँचै दिन बाक्लो उपस्थिति थियो ।







प्रतिक्रिया राख्नुहोस्