ठोरीमा एए.आई प्रविधि मार्फत टेली हेल्थ सेवा शुरु हुँदै
वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा आँखा, कान र घाँटी सम्बन्धी विशेषज्ञ सहितको नियमित स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ । बि.पी. नेत्र प्रतिष्ठान, काठमाडौँको सहयोगमा ठोरी गाउँपालिकाको विजय बस्तीमा रहेको स्वास्थ्य चौकीमा एए.आई प्रविधि मार्फत टेली हेल्थ सेवा उपलब्ध हुन लागेको हो ।

पर्सामा पहिलोपटक ठोरी गाउँपालिकामा सो सेवा उपलब्ध गराउने गरी प्रतिष्ठानले उपकरण र चिकित्सकको व्यवस्था गर्ने तथा ठोरी गाउँपालिकाले व्यवस्थापन गर्ने गरी आज गाउँपालिकाको कार्यालयमा सो सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा ठोरी गाउँपालिकाको तर्फबाट अध्यक्ष लाल बहादुर श्रेष्ठ र प्रतिष्ठानको तर्फबाट अध्यक्ष डा. गौरी शङ्कर लाल दासले हस्ताक्षर गर्नुभएको छ । आगामी दुई वर्षमा ठोरीका करिब ५ हजार जनालाई आधुनिक प्रविधि मार्फत् अस्पतालको सेवा पुर्याउने लक्ष्य राखेर सम्झौता गरिएको प्रतिष्ठानका अध्यक्ष डा. दासले बताउनुभयो ।

ग्रामीण क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आधुनिक प्रविधि मार्फत अस्पतालको सेवा प्रदान गरिने सो प्रतिष्ठानले जनाएको छ । टेली हेल्थ सेवाका रुपमा परिचित सो कार्यक्रम मार्फत् ठोरी बासीले निर्मलबस्ती स्वास्थ्य चौकीमा उपस्थित भई आँखा, कान र घाँटी सम्बन्धी विशेषज्ञ डाक्टरसँग निःशुल्क परामर्श सेवा लिन सक्ने प्रतिष्ठानले जनाएको छ ।
बिरामीले प्रविधि मार्फत विशेषज्ञ डाक्टरले लेखिदिएको औषधोपचार समेत गर्न सक्नेछन् भने शल्यक्रिया वा थप उपचारको जरुरी परेको अवस्थामा प्रतिष्ठानको केन्द्रीय कार्यालय भक्तपुर गई निश्चित रकम तिरेर स्वास्थ्य सेवा लिन सक्नेछन् ।
नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधी बाहेक अन्य औषधीको रकम भने बिरामीले नै तिर्नुपर्ने ठोरी गाउँपालिकाका स्वास्थ्य संयोजक रमेशराज थिङ्ले जानकारी दिनुभयो ।
प्रतिष्ठानसँगको सम्झौता पछि ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले टेली हेल्थ सेवाले ठोरीको जनताले स्वास्थ्य सेवा पाउन तथा रोग पहिचान गर्नकै लागि टाढा टाढाका अस्पताल र भारतसम्म नै पुग्नुपर्ने बाध्यता धेरै हदसम्म कमी हुने विश्वास व्यक्त गर्नुभयो । टेली हेल्थ सेवाको बारेमा ठोरीका प्रत्येक घरघरमा जानकारी गराउने काम गाउँपालिकाले गर्ने र सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रतिष्ठान गम्भीर भएर लाग्नुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिनुभयो । प्रतिष्ठानको सेवा लक्षित वर्गमा पुर्याउन गापाले सबै किसिमको सहयोग गर्ने पनि उहाँको प्रतिबद्धता थियो ।







प्रतिक्रिया राख्नुहोस्