बिआरआईको बारेमा भ्रमपूर्ण प्रचारहरू गर्ने प्रयत्नहरू भइरहेका छन् : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छिमेकी मुलुक चीनले शुरु गरेको परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)का बारेमा भ्रमपूर्ण प्रचार गर्ने प्रयत्न भइरहेको बताउनुभएको छ ।
साउथ एसिया फोरम अफ प्रोर्भटी रिडक्सन एण्ड डेभलप्मेन्ट कर्पोरेसनले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बिआरआईका बारेमा छरिएका भ्रमहरूलाई चिर्दै सफल कार्यान्वयन गर्नुपर्ने बताउनुभएको हो ।
‘बिआरआईको कार्यान्वयनमा कमीकमजोरी देखिए सच्याउने, विभिन्न देशका आफ्नै परिस्थिति अनुकूल हुनेगरि सञ्चालन गर्न र ती देशका जनताहरूले अधिकतम लाभ लिन सक्ने गरि परियोजना अगाडी बढाउन जरुरी छ ।’ उहाँले भन्नुभयो ‘गरिबी न्यूनीकरण तथा बिकास साझेदारीका लागि यो परियोजना महत्वपूर्ण कडीको रुपमा रहनेछ ।’
चीन सरकारको अत्यन्त महत्त्वाकाङ्क्षी दूरगामी महत्वको परियोजना भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले परियोजनाले चीनलाई मात्र नभई विश्वलाई नै प्रभावित तुल्याउन सक्छ भन्नुभयो । यसलाई ठिक ढंगले सञ्चालन गर्दा विश्वका राष्ट्र र जनताले राम्रो लाभ लिन सक्ने पनि उहाँको भनाई छ ।
अध्यक्ष तिमिल्सिनाले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत नै दक्षिण एसियामा गरिबी निवारण र विकासमा साझेदारी तथा सहयोग आदानप्रदान गर्ने उद्देश्य रहेको बताउँदै गरिबी निवारणमा चीनले प्राप्त गरेको सफलता चीनका लागि मात्र नभएर विश्वका लागि नै महत्त्वपूर्ण र अनुकरणीय भन्नुभयो ।
उहाँले एक असल छिमेकीका रुपमा आफ्ना सफल अभ्यासहरूलाई नेपाल जस्ता दक्षिण एसियाली मुलुकहरूमा प्रयोग गर्न प्रोत्साहन गर्ने चीन सरकारको अग्रसरताको उच्च प्रशंसा गर्दै यसबाट दक्षिण एसियाली मुलुकहरूलाई उनीहरूको आर्थिक बिकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुगेको छ भन्नुभयो । ‘गरिबी निवारणमा हामीहरूले मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हाँसिल गर्न समेत मद्दत मिल्ने विश्वास लिएको छु ।’ उहाँको भनाई थियो ।
चीनको गरिबी निवारणमा मिलेको सफलतामा दूरदर्शी राजनैतिक नेतृत्व, नागरिक सशक्तीकरण, सर्वपक्षीय सहभागिता र आपसी सहकार्य जस्ता कारणहरू रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपाल लगायत दक्षिण एसियाली मुलुकहरूले चीनका यी अनुभवबाट शिक्षा लिएर असल अभ्यासलाई आत्मसात गरेर अगाडी बढ्न सकेको खण्डमा गरिबी निवारणमा महत्वपूर्ण सफलता प्राप्त गर्न सक्ने विश्वास उहाँको छ ।







प्रतिक्रिया राख्नुहोस्