तपाईँ सुन्दै हुनुहुन्छः

नवौं धारा नेपालगन्ज म्याराथनमा पुरस्कार राशि वृद्धि 

बाँके । मङ्सिर ९ गते हुने नवौँ धारा नेपालगञ्ज म्याराथनमा यस वर्ष नगद पुरस्कार वृद्धि गरिएको छ । म्याराथनका विजेताले दुई लाख रुपैयाँ पाउनेछन् । त्यसैगरी दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौँले १५ हजार, छैटौँले १० हजार, सातौँ र आठौँले समान ५/५ हजार रुपैयाँबाट पुरस्कृत हुनेछन् ।

यसमा ४५ वर्षमाथिको धावकलाई पनि स्थान निर्धारण गरि प्रोत्साहन गरिने आयोजकले जनाएको छ । यसैगरी हाफ म्याराथन (महिला) मा प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाँचौँले १० हजार, छैटौँ, सातौँ र आठौँलाई समान ५÷५ हजार रुपैयाँले पुरस्कृत हुनेछन् ।

त्यस्तै १० किलोमिटर महिला र पुरुषतर्फ शीर्ष तीन जनालाई ३० हजार, १५ हजार र १० हजार रुपैयाँले पुरस्कृत गरिनेछ । स्कुलस्तरीय ५ किलोमिटर दौडमा शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ प्रदान गरिनेछ । यसमा बाँके जिल्ला बाहिर र जिल्लाभित्रका विद्यार्थीलाई समेटिएको छ । यसमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ को अलग अलग स्थान निकालिनेछ ।

ह्वीलचेयर दौडमा पनि पुरुष तथा महिलातर्फ अलगअलग शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजारबाट पुरस्कृत गरिनेछ । किड्स रनतर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गरिनेछ । कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मानित गरिनेछ ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत् अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मङ्सिर २०६३ ) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मङ्सिरमा नेपालगञ्जको बिपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button