तपाईँ सुन्दै हुनुहुन्छः

‘आर्थिक संवृद्धि र गरिबीको अन्त्य गर्ने नेतृत्व सरकारले गर्नुपर्छ’

भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक संवृद्धि र गरिबीको अन्त्य गर्ने नेतृत्व सरकारले गर्नुपर्ने बताउनुभएको छ ।

शंखधर साख्वाः प्रतिष्ठानले आज मध्यपुर थिमिस्थित शंखधर साख्वाः चोकमा आयोजना गरेको नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा उहाँले प्रधानमन्त्री आजको शंखधर प्रचण्ड बन्नुपर्ने बताउनुभयो ।

शंखधर साख्वा समाजवादी सांस्कृतिक नायक भएको चर्चा गर्दै मन्त्री किरातीले भन्नुभयो, “धनी र गरिब हुनु हुँदैन सबै समान हुनुपर्छ, ऋणी र साहु हुनु हुँदैन, भन्ने मान्यता राख्दै गरिबको ऋण मोचन गर्ने शंखधर साख्वा वर्गीय र जातीय मुक्तिका पक्षपाती समेत रहेकाले अब प्रचण्ड नेतृत्व सरकारले. आर्थिक संवृद्धि र गरिबी अन्त्य गर्दै आजको शंखधर प्रचण्ड बन्नुपर्छ ।”

११४३ वर्ष अगाडि शंखधर साख्वाःले चलाएको नेपाल सम्वत हटाई राणाहरूले भारतको बिक्रम सम्वत लागू गरेको चर्चा गर्दै आज प्रधानमन्त्री प्रचण्डले सरकारी दस्ताबेजमा विक्रम संवतसँगै नेपाल संवत् पनि उल्लेख गर्नुपर्ने निर्णय गरेको बताउनुभयो ।

सरकारले केही गरेको छैन भनेजस्तो हल्ला फिँजाउन खोजिए पनि सरकारले भ्रष्टाचार नियन्त्रण लगायत सुशासन, विकास र समृद्धिका सन्दर्भमा महत्त्वपूर्ण कार्य गरेको र गर्ने बताउनुभयो ।

नेपाल संवत् नेपाली मात्रको आफ्नै मौलिक संवत् हो भन्दै मन्त्री किरातीले सिङ्गो नेपाल र नेपाली मात्रको संवत् भएकाले यो संवतप्रति नेपालीले गर्व गर्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा वामगति प्रदेशका पशुपंक्षी मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले नेपाल संवतलाई व्यावहारिक रुपमा सरकारी कामकाजमा लागू गर्ने संघीय सरकारको निर्णय स्वागतयोग्य रहेको भन्दै वागमति प्रदेश सरकारले पनि नेपाल र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा लागू गर्ने निर्णय रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले इतिहास नरहे देश रहँदैन, त्यसैले इतिहासलाई जोगाउनु पर्छ भन्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दावेले नेपाली भूगोलमा उठ्दै गएको मौलिक पहिचान खोज्नु र स्थापित गर्नु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिले ४५० वटा मौलिक नाम, ठाउँ पहिचान गरेको बताउँदै त्यस्ता मौलिक नामलाई टोलटोलमा स्थापित गर्ने बताउनुभयो ।

प्रतिष्ठानका पूर्व अध्यक्ष श्यामकृष्ण मानन्धरले साख्वाः को प्रतिमामा २२ वर्षदेखि निरन्तर रुपमा सरकार प्रमुखले माल्यार्पण गरिरहेको बताउँदै साख्वाःको योगदानलाई नेपालभरि नै प्रचार गर्ने अभियान सुरु भएको बताउनुभयो ।

उहाँले शंखधरको प्रतिमालाई देश विदेशमा स्थापना गर्ने अभियान सञ्चालन भएको भन्दै नेपालको २२ ठाउँमा र अमेरिकाको बाल्टिमोडमा समेत साख्वाःको प्रतिमा स्थापना गरेको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले ११४३ वर्ष अगाडि शंखधर साख्वाःले चलाएको नेपाल सम्वत हटाई राणाहरूले भारतको बिक्रम सम्वत लागू गरेको चर्चा गर्दै नेपाल सम्वत ११०० मा सुरु भएको भिन्तुना आन्दोलनबाट आजसम्म आइपुग्दा ठूलो उपलब्धी हासिल भएको बताउनुभयो ।

कार्यक्रममा मध्यपुर थिमिको मौलिक नामहरू समेटिएको शिलापत्र अनावरण तथा शंखधर बुलेटिन विमोचन गरिएको थियो ।

त्यस अवसरमा नेपाल समाचार पत्रका प्रबन्ध सम्पादक दिनेशलाल श्रेष्ठ र नेपाल सम्वतको एप्स निर्माण गर्ने सौनक रंजितकारलाई सम्मान गरिएको थियो । त्यसैगरि शंखधर पदकसहित सङ्गीतकार रामकृष्ण दुवाल, अभियन्ता गणेश सायमी र पत्रकार नारायण किलम्बुलाई सम्मान गरिएको थियो ।

सो अवसरमा मध्यपुर थिमिको मौलिक नामको शुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button