भेरीमा थप दुई जना भूकम्पका घाइतेलाई ल्याइयो

बाँके । भूकम्पमा परी घाइते भएका थप दुई जना बिरामीलाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ । जाजरकोटबाट थप उपचारका लागि दुई जना भूकम्पका घाइतेलाई मङ्गलबार बिहान भेरी अस्पतालमा ल्याइएको हो ।
बारेकोट गाउँपालिका ५, नायकबाडा जाजरकोटका ६३ वर्षीय गोपाल दमाई र सोही गाउँपालिका वडा नं. ७, सुवाकोटका ६ वर्षीय बालक दिवस बस्नेतलाई थप उपचारका लागि मङ्गलबार भेरी अस्पताल ल्याइएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
सबै एक्सरे, रगत जाँचलगायत स्वास्थ्य जाँच तथा आवश्यक औषधि समेतको व्यवस्थापन गरिसकिएको र उहाँहरूको शल्यक्रिया गर्ने तयारी गरिएको श्रेष्ठले बताउनुभयो । फोकल पर्सन श्रेष्ठका अनुसार दमाईको दाहिने हात र स्पाइन भाँचिएको र दिवसको दाहिने हात भाँचिएको छ । बिरामी दुवै जनालाई फरक फरक समयमा एम्बुलेन्समार्फत नेपालगन्ज ल्याइएको उहाँले जानकारी दिनुभयो ।
“जाजरकोटका विभिन्न स्वास्थ्य संस्थामा सामान्य उपचार गराई निको भयो भनेर उहाँहरू घरमा बस्नुभएको रहेछ, पछि शरीरमा पीडा हुन थालेपछि थप उपचारका लागि यहाँ आएको र एक्सरे गर्दा उहाँहरूको हात र स्पाइन भाँचिएको पाइएको श्रेष्ठले जानकारी दिनुभयो।
भेरीमा आज ल्याइएका दुई बिरामीसमेत गरेर अब भूकम्पमा परी घाइते उपचाररत बिरामीको सङ्ख्या ८ पुगेको छ । सबै बिरामीको अवस्था सामान्य भएको हुँदा सबैलाई पेइङ्ग वार्डमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्