टिकटकमाथिको प्रतिबन्ध सामाजिक सद्भाव बचाउने उद्देश्यले गरिएको : प्रधानमन्त्री प्रचण्ड

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटकमाथिको प्रतिबन्धको निर्णय सामाजिक सद्भाव बचाउने उद्देश्यले सबै दलको सहमतिमा गरिएको बताउनुभएको छ ।
नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरको नयाँ ठिमीमा आज आयोजित नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राज्यलाई जिम्मेवारीबाट बढ्न रोक्ने खालका प्रवृत्ति नियन्त्रण गर्न लामो छलफल पछि सत्तापक्ष र प्रमुख प्रतिपक्ष समेत सबै दलको लामो बहस र सहमतिपछि सरकारले निर्णय गरेको बताउनुभयो ।
उहाँले टिकटक माथिको प्रतिबन्धको निर्णय गर्दा अन्तर्राष्ट्रिय जगत्का लोकतान्त्रिक देशले पनि कस्तो किसिमको अभ्यास अपनाएका छन् भन्ने कुराको अध्ययन गरिएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले सरकारले निर्णय गरेको बताउनुभयो ।

निर्णयप्रति बहस हुँदै जाने र यसप्रति सहमति र विमति जे भए पनि नेपाली समाजमा विकृति, विसङ्गति र अराजकता फैलाउन चाहने प्रवृत्ति रोक्नु आवश्यक भएको बताउनुभयो ।
सामाजिक सञ्जाल आतङ्कलाई रोक्नका लागि नियमन गर्न मिल्नेलाई नियमन गर्नुपर्ने र रोक्ने मिल्नेलाई रोक्नुपर्छ उहाँले भन्नुभयो ।
रोक्न मिल्नेलाई रोक्नुपर्छ र नियमन गर्न मिल्नेलाई नियमन गर्नुपर्छ भन्ने मान्यताबाट उत्प्रेरित भएर सबैको सहमतिबाट निर्णय गरेको प्रष्ट पार्नुभयो ।उहाँले भन्नुभयो,‘यसमा केही साथीलाई चित्त बुझेको छैन तर यसमा छलफल र कन्भिन्स हुँदै जाने प्रक्रिया होला’।
अराजकता रोक्ने विषयमा सरकार पछि नपर्ने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय विभूति शंखधर साख्वाले सामाजिक रुपान्तरणका लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्