नेपाल संवत् ११४४ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४४ र नेपाल परम्परागत बौद्धधर्म सङ्घको संयुक्त आयोजनामा ने.सं. ११४४ नव वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौँको क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजित कार्यक्रमका प्रमुख अतिथि एवम् नेवा अभियन्ता एवं बहुआयामिक व्यक्तित्व मल्ल के. सुन्दरले नेपाल संवत्को नयाँ वर्ष मनाउने मात्र नभई एउटा आन्दोलनको रुपमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले नेपाल संवत् नयाँ वर्षको आन्दोलन आजको अवस्था सम्म पुर्याउनका निम्ति नेपालभाषा मंकाः खलःका साथै विभिन्न व्यक्तित्वहरूको अमूल्य योगदान रहेको उल्लेख गर्दै नेपाल संवत्लाई लिएर अब कतै विवाद गर्नुपर्ने आवश्यकता नभएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपाल संवत् नेपालको संवत् भइसकेकाले यसको उचित सम्मानका लागि सरकारसँग अनुरोध गरेको बताउनुभयो ।
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल संवत् नेपालको मौलिक संवत् भएकोले यसलाई कतै पनि शङ्का उपशङ्का नगरी सम्मान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा अतिथिका रुपमा समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य हिसिला यमि, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मुक्ति प्रधान, पूर्व रक्षामन्त्री भीमसेन दास प्रधान, नेपा: पार्टीका अध्यक्ष विजय सैंजु, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, नेवा अभियन्ता डा. महेशमान श्रेष्ठका साथै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र समाचार महाशाखा प्रमुख पवन प्याकुरेल लगायत उपस्थित हुनुहुन्थ्यो ।

न्हूदँ समारोह समितिका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा बज्राचार्यले गत वर्षको न्हूदँ राष्ट्रिय समारोह समिति ११४३ को कार्यसमितिको अनुरोधलाई स्विकार्दै रेडियो नेपालले गत सालको फाल्गुन १५ गतेदेखि दैनिक रुपमा आफ्नो प्रसारण आरम्भको शुरुवात अर्थात् बिहान ५ बजेको उद्घोषण मार्फत नेपाल संवत्को साल, महिना र तिथि पनि उद्घोष गर्न थालेको स्मरण गराउँदै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीसहित रेडियो नेपाल परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्