तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा लुम्बिनी प्रदेश स्तरीय स्विमिङ प्रतियोगिता आयोजना हुँदै

बाँके । नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको देशकै दोस्रो सबैभन्दा ठुलो पौडी पोखरीमा पहिलो पटक लुम्बिनी प्रदेशस्तरीय स्विमिङ प्रतियोगिता आयोजना गरिने भएको छ । निर्माण भएको चार वर्षपछि सो पौडी पोखरीमा पहिलो पटक कुनै प्रतियोगिता हुन लागेको हो ।

२०७६ सालमा नेपालगन्जमा सम्पन्न भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १५ करोडको लागतमा निर्माण गरिएको पौडी पोखरी पूर्ण रुपमा तयार नहुँदा त्यति बेला स्विमिङका खेलहरू काठमाडौँमा गरिएका थिए ।

स्विमिङ खेलको विकास र प्रवर्द्धनका लागि हालै मात्र गठन गरिएको नेपालगन्ज स्विमिङ क्लबले कात्तिक २५ गते सो प्रतियोगिता आयोजना गर्ने क्लबका अध्यक्ष केशवराज न्यौपानेले बिहीबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा बताउनुभयो ।

उहाँले प्रतियोगितामा ८, १०, १२, १४ र १५ वर्ष उमेरका अतिरिक्त खुल्ला समूहमा बाँके, बर्दिया, दाङ, रुपन्देही र नवलपरासीका ५६ जना खेलाडीको सहभागिता रहने बताउनुभयो । आठदेखि १० वर्ष उमेर समूहका खेलाडीले २५ मिटरको दूरीमा प्रतिस्पर्धा गर्ने छन् भने अन्य खेलाडीले ५० मिटरको दूरीमा प्रतिस्पर्धा गर्नेछन् । खुल्लामा भने बटरफ्लाई र फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटनका लागि नेपाल पौडी सङ्घका केन्द्रीय अध्यक्ष अशोक बज्राचार्य, महासचिव जगतमान श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय भट्टराई नेपालगन्ज आउने कार्यक्रम रहेको क्लबले जनाएको छ ।

नेपालगन्जमा चार वटा वाटर पार्क, एक दर्जन बढी तारे होटल र रङ्गशालामा ठुला पौडी पोखरीहरू रहेको र यहाँ नौ महिनासम्म पौडी खेलाउन सकिने हुँदा पौडी खेलाडी उत्पादनका लागि यो सहर अति नै उपयुक्त रहेको नेपालगन्ज स्विमिङ क्लबका उपाध्यक्ष डा. नितेष कुमार कनोडियाले बताउनुभयो ।

क्लबले आगामी वैशाखमा नेपालगन्जमा राष्ट्रिय स्विमिङ प्रतियोगिता गर्ने र त्यसको केही महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने योजना बनाइरहेको क्लबका अध्यक्ष न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button