राहत र पुनःस्थापना सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपीडितको उद्धार, राहत र पुनः स्थापनालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।
भूकम्पपीडितको उद्धार तथा राहतमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसँगको भेटमा उहाँले पीडितलाई सबै प्रकारको सहयोग गर्न सरकारले कुनै कसर बाँकी नराखेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “अहिले तपाईँहरूले सरकारले लिएको पहलकदमी वा तत्परताका लागि दिनुभएको धन्यवाद आफैँमा पनि सरकारलाई एउटा नयाँ ऊर्जा मिलेको महसुस भएको छ ।” उहाँले पीडितसमक्ष सही समय र ठिक ढङ्गले राहत प्राप्त हुने वातावरण बनोस् भन्नेमा सरकार सचेत रहेको बताउनुभयो ।
विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने र त्यसबाट शिक्षा लिएर पीडितको राहत र पुनः स्थापनामा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यसका लागि कानुनमा समेत केही संशोधन गर्नुपर्ने आवश्यकता छ, राहत र पुनः स्थापनालाई मोडेलका रुपमा अगाडि बढाउनेमा सरकार दृढ छ ।”
सो अवसरमा रास्वपाका उपसभापति डोरप्रसाद अर्यालले छ बुँदे सुझाव दिँदै राहत सामग्री पीडितसमक्ष पुगे/नपुगेका अनुगमन गर्न, चिसोको समय रहेकाले पीडितको अवस्थाबारे विशेष ध्यान दिन तथा राहत र पुनः स्थापनाका लागि कानुनमा आवश्यक सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्