तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख घिमिरेसँग महासचिव गुटेरेसको भेटवार्ता

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपालको भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

बानेश्वरस्थित संसद् भवनमा आज भएको भेटवार्तामा सभामुख घिमिरेले महासचिव गुटेरेसलाई नेपाल सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्‍याउन आफूहरू प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।

उहाँले दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद् र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको अवगत गराउँदै अब निकट भविष्यमै ऐन निर्माण हुने अपेक्षा व्यक्त गर्नुभएको उहाँका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।

सभामुख घिमिरेले नेपालले सफलतापूर्वक आफ्नो मौलिक, राष्ट्रिय अपनत्वसहित र आफैँले नेतृत्व गरी शान्ति प्रक्रिया निष्कर्षमा पुर्याएको स्मरण गर्दै नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रसङ्घीय मिसन (अनमिन)को मध्यस्थताले ठूलो सहयोग गरेको बताउनुभएको थियो ।

उहाँले नेपाल भगवान् गौतम बुद्धको देश भएको र नेपाली शान्तिप्रिय रहेको जानकारी गराउँदै नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको उपलब्धि विश्वका लागि नै मोडेल बन्न सक्छ भन्ने आफूलाई लागेको जानकारी गराउनुभयो । विश्वका कतिपय देशहरूमा देखिएका अशान्ति र द्वन्द्वको निरुपणका लागि पनि यहाँका विशिष्टीकृत प्रयासहरू उदाहरण बन्न सक्ने पनि सभामुख घिमिरेको भनाइ थियो ।

सभामुख घिमिरेले जलवायु परिवर्तनसम्बन्धी विषय नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै एक भूपरिवेष्टित पर्वतीय तथा न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भएर पनि नेपालले जलवायु परिवर्तनको असमानुपातिक असर व्यहोर्नु परिरहेको बताउनुभयो । उहाँले महिला तथा बालबालिका जलवायु परिवर्तनको गम्भीर असरबाट झनै बढी प्रभावित भएका हुँदा संयुक्त राष्ट्रसङ्घीय प्रणालीको प्रभावकारिता अभिवृद्धि गर्न महासचिव गुटेरेसले चाल्नुभएको कदमको स्वागत गर्नुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, “नेपालको संसद्को नियमावलीमा नै राष्ट्रसङ्घका महासचिवबाट सम्बोधन हुन सक्ने व्यवस्था छ, तपाईँको सम्बोधनलाई नेपाली जनताले पनि चासोका साथ हेरेका छन् ।”

त्यस भेटका अवसरमा राष्ट्रसङ्घका महासचिव गुटेरेसले नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन राष्ट्रसङ्घ आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । साथै महासचिव गुटेरेसले सङ्क्रमणकालीन न्यायले पीडित, उनीहरूको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button