अध्यक्ष तिमिल्सिना र आयरल्याण्डको सिनेटका अध्यक्ष बुटिमेर बीच भेटवार्ता

लुवाण्डा, एङ्गोला । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरबीच भेटवार्ता भएको छ ।
अन्तर व्यवस्थापिका संघ (आइपियु)को १४७ औँ महासभाका क्रममा एङ्गोलाको संसद् भवनमा उहाँहरुबीच बिहीबार भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्ड बीचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसद् र संसदहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “नेपाल र आयरल्याण्ड बिचको सम्बन्ध प्रगाढ बढाउन दुई देशका संसद् र संसदहरुको महत्वपूर्ण भूमिका रहेको छ”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो“संसदीय अनुभवको आपसी आदानप्रदान मार्फत संसदीय लोकतन्त्रलाई परिष्कृत गर्दै आफ्ना नागरिकहरूको हक अधिकार सुनिश्चित गर्ने प्रक्रियालाई सबल बनाउने अवसर हाम्रो सामु रहेको छ।”

उहाँले दुई देशका बिचमा यस अघि भएका भ्रमणको स्मरण गर्दै आगामी दिनमा हुने भ्रमणले सम्बन्ध प्रगाढ बनाउने विश्वास ब्यक्त गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले नेपालमा हिमाल आरोहण र पदयात्रा पर्यटनमाबीचमा लोकप्रिय भएकाले उल्लेख्य सङ्ख्यामा पर्यटकहरूलाई नेपाल आउने वातावरण बनाउन सक्दा त्यसबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
भेटवार्ताका क्रममा आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरले दुवै देशले साझा मुद्दाहरूमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास ब्यक्त गर्दै आगामी दिनमा साझा सहकार्य बढाउने प्रतिबद्धता जनाउनुभयो । नेपालमा हिमाल आरोहण र पदयात्राका लागि आयरल्याण्डका धेरै नागरिक इच्छुक रहँदै आएको बताउँदै आगामी दिनमा पर्यटकलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । आयरल्याण्डमा बस्ने नेपालीहरूले त्यहाँको औषधी उद्योग र स्वास्थ्य क्षेत्रमा सहकार्य गरिरहेको बताउँदै उहाँले त्यसका लागि नेपाललाई धन्यवाद दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्