तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मुस्लिम समुदायका अगुवाहरूले यसरी मनाए दसैँ

बाँके । सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडादसैँको दिन मुस्लिम समुदायका अगुवाहरूले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दशैं मनाएका छन् । मङ्गलबार हिन्दुहरूको महान् पर्व बडादसैँका अवसरमा मुस्लिम अगुवाहरूले दसैँको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैँ मनाएका हुन् ।

बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले आफ्ना मान्यजनबाट दसैँको टीका र जमरा लगाउनुभएको छ । उहाँले दसैँ, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैँ यसरी नै मिलेर मनाउने गरेको बताउनुभयो । “हामी सद्भावको सहरमा छौँ । यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो । यहाँ मुस्लिमले हिन्दुहरूको मात्र नभई हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसै गरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ” उहाँले भन्नुभयो, “मेरो अन्य समुदायको धर्म र आस्थाप्रति मनैदेखि नै सम्मान छ । टीका थाप्दा मैले मान्ने हिन्दू समुदायका मान्यजनलाई खुसी मिल्छ र उहाँहरू खुसी हुँदा मलाई पनि खुसी मिल्छ भने त्यो खुसीमा किन सहभागी नहुने?”

मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकर ईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर उहाँहरूसँग रमाउने गरेको बताउनुभयो । बाँकेमा हिन्दू र मुस्लिम समुदायले वर्षौंदेखि एकआपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउँदै आएको उहाँको भनाइ छ ।

सोही प्रकारले बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेज अलि सिद्धिकीले पनि दसैँमा हिन्दू समुदायका आफन्त र मान्यजनबाट टीका ग्रहण गर्नुभएको छ । उहाँले आफूले टीका र जमरा ग्रहण गरेपश्चात् आफूभन्दा सानालाई टीका लगाएर आशीर्वाद दिनुभएको छ ।

अर्का मुस्लिम अगुवा रहमान मियाँले पनि मान्यजनबाट दसैँमा टीका र जमरा लगाएर आशीर्वाद लिनुभएको छ । रहमान मियाँले दुवै समुदायबीच अभूतपूर्व एकता र सद्भाव रहेको भन्दै उक्त सद्भावलाई बिथोल्ने प्रयासमा लागे कहिल्यै पनि सफल नहुने बताउनुभयो

बडादसैँका दिन मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई भेटेर दसैँको शुभकामना दिनुभएको छ । एकताका र सद्भावका लागि दुवै समुदायका धर्म गुरुले संयुक्त रुपमा सबै एकआपसमा मिलेर बस्न आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button