तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बैतडी । बैतडीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको पाटन नगरपालिका–५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मङ्गलबार मृत भेटिएका छन् । चन्द पाटन–मेलौली सडकखण्डको पाटन नगरपालिका–५ कद्वारस्थित भीरबाट दुई सय मिटर तल मृत भेट्टाएका हुन् ।

सोमबार साँझ घरबाट कद्वार जान भनी निस्केका रामबहादुर मङ्गलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । चन्दको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यस्तै भीरबाट लडेर पाटन नगरपालिका वडा नं ४ कुणीका ५० वर्षीय वीरसिंह विष्टको मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका वडा नं २ स्थित निङलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका विष्ट घरनजिकै रहेको लिसान्गड भीरबाट लडेका थिए । भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारको लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button