तपाईँ सुन्दै हुनुहुन्छः

चार वर्षपछि जाजरकोटमा नयाँ भाडादर कायम

सुर्खेत । जाजरकोटमा गुड्ने सार्वजनिक यातायातका सवारी साधनको नयाँ भाडादर कायम गरिएको छ ।

सार्वजनिक सवारी साधनले चर्को भाडा लिएको गुनासो आइरहेका बेला आज जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका ७ वटै पालिकाका प्रमुख÷उपप्रमुख यातायात व्यवस्था सेवा कार्यालय चौरजहारी, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, तथा यातायात व्यवसायीका संघ सङ्गठनहरूको संयुक्त बैठकले पक्की र कच्ची सडकको नयाँ भाडादर निर्धारण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्चालित विभिन्न रुटका सडकलाई तीन तहमा वर्गीकृत गरी चार वर्षपछि नयाँ भाडादर समायोजन गरेको हो ।

स्वचालित वैज्ञानिक भाडा दरका आधारमा अधिकतम पक्की सडकका लागि प्रतिकिलोमिटर ४ रुपैयाँ १५ पैसादेखि ५ रुपैयाँ ५० पैसासम्म, ग्राभेल सडकका लागि ५ रुपैयाँ ५० पैसादेखि ६ रुपैयाँ ५० पैसा र कच्ची सडकका लागि ६ रुपैयाँदेखि १० रुपैयाँसम्म प्रतिकिलोमिटर भाडा समायोजन गरिएको यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख आनन्द चपाइले जानकारी दिनुभयो ।

उहाँले समायोजन गरिएको नयाँ भाडादर जाजरकोटका विभिन्न रुटमा गुड्ने सवारी साधनमा कार्तिक १५ गतेदेखि अनिवार्य लागु हुने बताउनुभयो ।

महँगो भाडा दरका विषयमा सर्वसाधारणले पटक–पटक गरेको विरोधपछि जिल्ला प्रशासन कार्यालयको पहलमा नयाँ भाडादर कार्यान्वयनमा ल्याउन स्थानीय पालिकालाई समेत जिम्मेवार बनाउने गरी निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।

उहाँले रातो नम्बर प्लेटका गाडीले यात्रु ओसारपसार गर्ने कार्य पूर्ण रुपमा बन्द गर्दै यात्रु बोकेको पाइए कानून बमोजिम कारबाही हुने बताउनुभयो । उहाँका अनुसार समायोजन गरिएको नयाँ भाडादर प्रत्येक सवारी साधनले अनिवार्य रुपमा टाँस गर्नुपर्नेछ ।

महँगो भाडा घटाएर नयाँ कायम गरिएपछि सर्वसाधारणले उक्त निर्णयको स्वागत गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button