बन्यो रङ्गशाला, साँचो समन्वय प्रमुखलाई बुझाइयो

भोजपुर । पहाडी जिल्ला भोजपुरमा निर्माण भएको रङ्गशालाको निर्माण कार्य पुरा भएसँगै जिल्ला समन्वय समिति भोजपुरका प्रमुखलाई बुधवार साँचो हस्तान्तरण गरिएको छ ।
शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाका इन्जिनियर शिव कुमार शाहले निर्माण कार्य पुरा भएसँगै जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईलाई रंगशालाको साँचो हस्तान्तरण गर्नु भएको हो । रङ्गशालाको निर्माणले अव ठुला प्रतियोगिता सञ्चालनमा सहजता भएको समन्वय प्रमुख राईले बताउनुभयो ।

तत्कालीन जिल्ला बिकास समितिले रंगशाला निर्माणका लागि २०६४ सालमा जग्गा खरिद गरेको
थियो । शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले हेर्ने गरी प्रदेश सरकारको १४ करोड लगानीमा रङ्गशाला निर्माण भएको हो । रङ्गशालाको निर्माण कार्यको जिम्मा रायमाझी मार्सेली निर्माण जेभीले पाएको थियो ।
सुविधा सम्पन्न रङ्गशाला बनेपछि स्वामित्व कसले लिएर सञ्चालन गर्ने भन्ने समस्या पनि समाधान भएकोले अव खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्न पाइने भोजपुर जिल्ला फुटबल संघका महासचिव तुफान किरातले बताउनुभयो । अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले भोजपुरवासी तथा खेलाडीहरूमा उत्साह जगाएको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो ।
सुविधा सम्पन्न रङ्गशालाको अभावमा सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू सञ्चालन गर्नु पर्ने बाध्यता रहँदै आएको थियो । नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल खेलाडी भोजपुरका भएपनि जिल्लामा व्यवस्थित रंगशालाको भने अभाव थियो ।






प्रतिक्रिया राख्नुहोस्