प्रसारण सामग्री सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न
काठमाडौँ । रेडियो नेपालले समाचार तथा कार्यक्रमको प्रसारण सामग्री सुधारसम्बन्धी आज अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले यो वर्ष रेडियो नेपालको प्रसारण सामग्री सुधारको वर्ष भएकाले अन्तरक्रिया र छलफल जस्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक केसीले सरकारी सञ्चार माध्यमहरू अन्य सञ्चार माध्यमहरूको तुलनामा सत्य तथ्यमा आधारित हुन्छन् भन्ने विश्वासलाई कायम राख्दै रेडियो नेपालको प्रसारण सामग्रीलाई थप प्रभावकारी बनाउनु आवश्यक रहेको बताउनुभयो ।

रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियोको प्रसारणमा देखिएको चुनौती चिर्दै अगाडी बढ्न छलफल तथा अन्तरक्रिया सहितको सुझाव र निष्कर्ष जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारहरू विनय गुरागाईँ, पवन आचार्य र पुष्प न्यौपाने लगायतले समाचार र कार्यक्रम सुधारसम्बन्धी अनुभव आदान प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा रेडियो नेपालका समाचार र कार्यक्रम महाशाखामा कार्यरत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्