प्रधानसेनापतिका विषयमा झुटो सूचनामा आधारित समाचार प्रकाशित भयो : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका विषयमा सञ्चारमाध्यमले झुटो र गलत सूचनामा आधारित समाचार प्रकाशित गरेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ, राजनीतिशास्त्र अध्ययन सङ्घ र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा संयुक्तरुपमा आज आयोजित ‘नेपालमा इन्टरनेट र मित्थ्या सूचना : लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चुनौती’ विषयक कार्यक्रममा रक्षामन्त्री खड्काले नेपाली सेनाका विषयमा गलत र झुठा सूचनामा आधारित समाचार सम्प्रेषण हुँदा यसले संस्थामा अत्यन्तै ठूलो भ्रम सिर्जना गर्ने परिस्थितिका निर्माण भएको उल्लेख गर्नुभयो ।
“नेपाली सेनाका एकजना सहायक रथीको बढुवाको सन्दर्भ जोडेर ठूलो समाचार बन्यो, राजनीतिक पार्टीमा छलफलको विषय बन्यो । सो विषयमा सम्बन्धित फोरममा प्रष्ट पार्ने कोसिस पनि गरेँ”, उहाँले भन्नुभयो, “तर अझै पनि भावी प्रधानसेनापतिसँग जोडेर गलत सूचना आइरहेको छ । जसमा सत्यता छैन ।”
उपप्रधानमन्त्री खड्काले सरकारले नेपाली सेनाका सहायक रथी यामबहादुर अधिकारीको पदावधि सेनाको नियमावलीअनुसार थप भएको बताउनुभयो । तत्कालीन माओवादीका लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने सहमति अनुरुप तोकिएको मापदण्ड, परम्परा, संस्थागत थिती, सैनिक ऐन नियमलाई प्रतिकुल असर नहुने गरी समायोजनको बन्दोवस्तो गरिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले सोही क्रममा अधिकारीलाई २०७६ सालमा सरकारले अतिरिक्त सहायक रथीको पद सिर्जना गरेर बढुवा गरेको बताउनुभयो ।
रक्षामन्त्री खड्काले सहायक रथीको पदावधि सात वर्षको हुने उल्लेख गर्दै अधिकारीको उमेरको अवधिले पुग्ने, सेनाको बोर्ड, प्रधानसेनापति र रक्षा मन्त्रालयको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले एक पटकका लागि तीन वर्षको पदावधि थप गरेको स्पष्ट पार्नुभयो । “अहिले नेपाली सेनाको नियमावली चलाएर अधिकारीलाई प्रधानसेनापति बनाउँदैछ भनेर सञ्चारमाध्यमले प्रपञ्च चलाएका छन्”, उपप्रधानमन्त्री खड्काले, “यी सबै झुठा कुरा हुन् ।”
नेपाली सेनाको प्रधानसेनापति हुनका लागि निश्चित मापदण्ड, तालिम आवश्यक हुने उहाँको भनाइ छ । “सो सम्बन्धमा सरकार, रक्षा मन्त्रालय सैनिक नियमभन्दा दायाँबायाँ जाने कल्पना पनि गर्न सकिन्न”, उहाँले भन्नुभयो, “त्यसैले सहायक रथी अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत हो, झुठा हो । गलत सूचनाका आधारमा समाचार बनाएर राजनीतिबाट मुक्त रहेको र नेपाली जनताको भरोसाको संस्थालाई चलाउने प्रयास गरिएको छ ।”
उहाँले प्रेस स्वतन्त्रता, अधिकार र हकका साथै इन्टरनेट र सामाजिक सञ्जालको उपयोग गर्दा समाजमा हुने हानी, संस्थामा पर्ने असर, नागरिकमा पर्ने नराम्रो प्रभावले गलत कुरा पनि सही होकि भन्ने वातावरण उत्पन्न हुने हुँदा त्यसतर्फ सचेत हुन पनि आग्रह गर्नुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्