कर्णाली प्रदेश प्रमुख परियारसमक्ष अख्तियार सुर्खेतद्वारा वार्षिक प्रतिवेदन पेश

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरेको छ ।
आज कर्णाली प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा आयोगका सुर्खेत कार्यालय प्रमुख माधवप्रसाद पोखरेलले नेपालको संविधानको धारा २९४ को परिच्छेद ८ अनुसार ४७४ पृष्ठको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख परियार समक्ष पेश गर्नु भएको हो । उक्त प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख परियारले मुलुकको सुशासन र विकास विरुद्ध हुने भ्रष्टाचारजन्य कार्य निवारण तथा न्यूनीकरण आयोगको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
उहाँले हरेक व्यक्ति आफूले आफ्ना लागि ईमानदार भइदिए धेरै हदसम्म भ्रष्टाचारजन्य कार्य नियन्त्रण हुने विश्वास व्यक्त गर्नु भयो । अख्तियारका आगामी सञ्चालन हुने गतिविधिसहित कार्यसम्पादनले प्रभावकारिता बढोस् भन्दै उहाँ गलत नियत राख्नेहरू निरुत्साहित बनुन् र नागरिकलाई सुशासनको प्रत्याभूति हुने विश्वास व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा कार्यालय प्रमुख पोखरेलले आयोग सुर्खेत कार्यालयले आव २०७९/८० मा गरेका कार्यसम्पादनबारे प्रदेश प्रमुखलाई प्रस्तुतिमार्फत जानकारी गराउनु भएको थियो ।
गत आवमा चिठीपत्र, इमेल, पत्रपत्रिका, टेलिफोन, फ्याक्सलगायत माध्यमबाट दुई हजार ९६ उजुरी परेकामा ११५२ फछ्र्यौट भएको र बाँकी ९४४ बाँकी रहेका छन् । ती मध्ये ५३५ उजुरी चालु आव २०८०/८० मा सरिआएको उहाँले बताउनु भयो । उहाँका अनुसार सबैभन्दा बढी स्थानीय तहका उजुरी परेका छन् । प्रतिवेदनमार्फत उच्च पदस्थ कर्मचारीले सदाचारिता अपनाउनुपर्ने, सार्वजनिक खरिद प्रणालीमा सुधार आउनुपर्ने, उपभोक्ताबाट निर्माण हुने कार्यलाई व्यवस्थित गरिनुपर्ने, परामर्शदातालाई जिम्मेवार बनाउनुपर्ने लगायतका सुझाव दिइएको छ ।







प्रतिक्रिया राख्नुहोस्