‘कोरोला नाकासम्मको पूर्वाधार निर्माण चाँडो सम्पन्न गर्नुपर्छ’
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खुलाउन सरकारको तयारी गरिरहेको जनाउँदै त्यहाँसम्म पुग्नका लागि सडक लगायतका आवश्यक पूर्वाधार निर्माण चाँडो सक्नुपर्नेमा जोड दिनुभएको छ ।
मुस्ताङस्थित कोरोला नाकाको २४ नं सीमा स्तम्भको स्थलगत निरीक्षण गर्दै उहाँले तिब्बततर्फ भौतिक संरचनाहरू निर्माण भइसकेका देखिएकाले नेपाल तर्फ पनि आवश्यक भौतिक संरचना छिटो निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
सुरक्षा जाँच, भन्सार सञ्चालन आदिका लागि सडक लगायतका आवश्यक भौतिक पूर्वाधार निर्माण जरुरी रहेको उहाँको भनाइ छ ।
सीमा नाका निरीक्षणसँगै गण्डकी प्रदेश स्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्ला स्तरीय सुरक्षा समितिको बैठक पनि कोरोलामा बसेको थियो । बैठकमा नाका र प्रदेशको सुरक्षा संवेदनशीलता, नाका खुल्दा र नखुल्दा आउन सक्ने चुनौती, समाधानका उपाय, स्थानीयको आवश्यकता लगायतमा छलफल भएको थियो ।
उक्त निरीक्षणमा मुख्यमन्त्री पाण्डे, प्रतिनिधिसभा सदस्य योगेश गौचन, प्रदेशसभा सदस्य नाम्डु गुरुङ, बिकल शेरचन लगायतको सहभागिता थियो । मुख्यमन्त्री सहितको टोलीले सिमावर्ती क्षेत्रको गाउँमा पुगी छलफल समेत गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्