मदिरा सेवन गरेर पुनर्वासकी लक्ष्मी घर्तीको हत्या गर्ने चार जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ आईबिआरडीकी २७ वर्षीया लक्ष्मी घर्तीको हत्या गर्ने चार जना युवक डेढ महिनापछि पक्राउ परेका छन् । साउन २९ गते आफ्नो घर आईबिआरडी बजारदेखि ‘घ’ गाउँस्थित मामाघर जान्छु भनी हिँडेकी लक्ष्मी भोलीपल्ट बिहान घर नजिकैको सडक क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । लक्ष्मीको हत्या भएको भन्दै उनको परिवारले प्रहरीलाई किटानी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लक्ष्मीको हत्यामा संलग्न भएको आरोपमा चार जना युवकलाई पक्राउ गरेको छ ।
बेलौरी नगरपालिका वडा नम्बर १ बस्ने सरोज राना, सोही ठाउँ बस्ने १९ वर्षीय राहुल राना, लालझाडी गाउँपालिका वडा नम्बर १ नौरङ्गा बस्ने ३३ वर्षीय सेनराज राना र नौरङ्गाकै पर्शु रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न राज कुमार रानाको खोजिकार्य भइरहेको कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले बताउनु भयो । घटना रहस्यमयी भएकाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको जनाएको छ ।
उहाँका अनुसार, लक्ष्मी र सरोजबिच चिनजानकै सम्बन्धका आधारमा सोही साँझ लालझाडी जङ्गलमा मचान हेर्नका लागि गएको र त्यहाँ मदिरा सेवनपछि विवाद हुँदा युवकहरूले लक्ष्मीलाई मचानको तेस्रो तलाबाट भुईँमा खसाएर घाइते बनाएका थिए । घाइते भएकी लक्ष्मीको उपचारको साटो घर नजिकै ल्याएर फ्याकेपछि राति नै लक्ष्मीको मृत्यु भएको बताइएको छ ।
अनुसन्धानपछि असोज १४ गते पक्राउ परेका चारै जनालाई अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरू विरुद्धमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा दायर गरिएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्