तपाईँ सुन्दै हुनुहुन्छः

प्रक्रिया पूरा गरेर ल्याएको विषयलाई इन्कार गर्न नसक्ने : राष्ट्रपति पौडेल

काठमाडौँ I राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पार्नुभएको छ । 

संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराइदिने अनुरोध गर्न आज राष्ट्रपति कार्यालय पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डलसँग राष्ट्रपति पौडेलले संसदीय व्यवस्थाको मान्यता अनुसार मन्त्रिपरिषद्ले गरेको निर्णयको जस अपजसको भागी सरकार नै हुने भएकोले सरकारलाई नै प्रश्न गर्न आग्रह गर्नुभयो । 

उहाँले संविधानले राष्ट्रपतिलाई विवेक  प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृहमन्त्रालयबाट आएको पत्र फिर्ता गराएको पनि स्मरण गराउनुभयो । 

६ सय ७० जनाको बाँकी कैद मिनाहाको विषय सबै प्रक्रियाहरू पु¥याएर मन्त्रिपरिषद्ले निर्णय गरेपछि आएको भन्दै राष्ट्रपतिले स्वीकार गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको पनि राष्ट्रपति पौडेलले बताउनुभयो ।

राष्ट्रपति पौडेलले प्रतिनिधिमण्डललाई तपाईहरू संसद्मा हुनुहुन्छ, सरकार पनि संसद्मा नै छ, त्यहीँ प्रधानमन्त्री, गृहमन्त्रीलाई किन जबाफदेही बनाउन सक्नुभएन र सोझै यहाँ आउनुभयो भन्ने प्रश्न गर्दै यो संविधान र व्यवस्था अनुसार प्रक्रिया नमिलेको पनि प्रस्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले कानुन नमिलेको भए कानुन मिलाउने, संशोधन गर्ने अधिकार संसद्लाई भएको पनि स्मरण गर्नुभयो ।  

रास्वपाका सभापति रवि लामिछानेले अभिभावकको हैसियतले सरकारको ध्यानाकर्षण गराइदिनका लागि आग्रह गर्न राष्ट्रपति समक्ष आएको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button