‘दिगो विकास लक्ष्यबारे छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ’
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो विकास लक्ष्यका बारेमा छलफलका लागि सरकारले सर्वपक्षीय छलफल आयोजना गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले आयोजना गरेको दिगो विकास लक्ष्य सम्बन्धी बहुपक्षीय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले दिगो विकास लक्ष्य प्राप्त गर्न राष्ट्रिय रुपमा ऐक्यबद्धताका लागि सरकारले सर्वपक्षीय बैठक र छलफल आयोजना गर्नुपर्ने सुझाव दिनुभएको हो ।
उहाँले दिगो बिकास लक्ष्य प्राप्त गर्न तीनै तहका सरकार र सरोकारवालाहरू सम्मिलित बैठकबाट कार्यान्वयनको अनुगमन गर्ने काम संघीय सरकारले गर्नुपर्छ भन्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले दिगो बिकास लक्ष्य प्राप्तिका लागि राजनैतिक दलहरूको प्रतिबद्धता र घोषणापत्र कार्यान्वयनका बारेमा पनि चाँसो दिनुपर्ने धारणा राख्नुभयो ।
दिगो विकास लक्ष्य कार्यान्वयन गर्ने नेतृत्वदायी भूमिकामा रहेको राष्ट्रिय योजना आयोगले संसदीय अभियानहरूलाई उदासीनता देखाएको बताउँदै अध्यक्ष तिमिल्सिनाले आगामी दिनमा पनि यस्तै प्रवृत्ति दोहोरिएमा संसद् बैठकबाटै रुलिङ गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले दिगो विकास लक्ष्यमा नेपाल विश्वका अन्य मुलुक भन्दा अगाडी रहेको चर्चा गर्दै अझै लक्ष्य अनुसार अघि बढ्न सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो ।
दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको अध्यक्षतामा भएको कार्यक्रममा गैह्र सरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुबेदी, संघीय संसद्का सचिव डा. रोजनाथ पाण्डेय र राष्ट्रिय योजना आयोगका सहसचिव महेश भट्टराईले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्