उदयपुरका स्थानीय तहमा सहरी विकास तथा सडक सुरक्षा कार्यक्रम अघि बढाउने तयारी
उदयपुर । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत सञ्चालन हुने सघन सहरी विकास, बस्ती विकास तथा सडक स्तरोन्नति र सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा उदयपुरका स्थानीय तहका प्रमुख तथा सरोकारवालाबिच छलफल भएको छ ।

आइतबार चौदण्डीगढी नगरपालिकामा आयोजित अभिमुखीकरण तथा छलफलमा आर्थिक वर्ष २०८३/८४ का लागि सप्तरीस्थित सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत विनियोजित विभिन्न विकास कार्यक्रम, बजेट तथा कार्यान्वयन प्रक्रियाबारे जानकारी आदानप्रदान गरिएको हो ।
चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाको कार्यकक्षमा भएको छलफलमा सघन सहरी विकास कार्यक्रम, बस्ती विकास कार्यक्रम, सडक स्तरोन्नति, सडक मर्मत तथा सडक सुरक्षा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउने विषयमा विशेष जोड दिइएको थियो । साथै, कार्यक्रम कार्यान्वयनका लागि तयार पारिएको कार्यविधि, स्थानीय तहको भूमिका, योजना छनोट तथा विकास निर्माणलाई परिणाममुखी बनाउने विषयमा समेत छलफल भएको थियो ।
कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अधिकारी, चौदण्डीगढी नगर प्रमुख कालुमान लामा, त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेत, बेलका नगर प्रमुख अशोक कार्की तथा रौतामाई गाउँपालिका अध्यक्ष विरेन्द्र मगरसहित विभिन्न स्थानीय तहका जनप्रतिनिधि, प्राविधिक तथा आयोजना सम्बद्ध अधिकारीहरूको सहभागिता रहेको थियो ।
सघन सहरी तथा भवन निर्माण आयोजना, सप्तरीका आयोजना प्रमुख सञ्जीव कुमार शाह, सि.डि.ई. राजु न्यौपाने, बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई, विभिन्न वडाका अध्यक्ष, नगर कार्यपालिका सदस्य तथा इन्जिनियरहरूले समेत छलफलमा सहभागिता जनाएका थिए ।
स्थानीय तहमा सहरी पूर्वाधारको विकास, व्यवस्थित बस्ती निर्माण, सडकको गुणस्तर सुधार तथा सुरक्षित आवागमनलाई प्राथमिकतामा राख्दै विनियोजित कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले छलफल आयोजना गरिएको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्