तपाईँ सुन्दै हुनुहुन्छः

भीमफेदी सुमो दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

मकवानपुर । मकवानपुरको भीमफेदीमा आज बिहान भएको यात्रुवाहक सुमो दुर्घटनाका मृतक र घाइतेहरूको सनाखत भएको छ । भीमफेदी गाउँपालिका–१, भैँसेमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन् ।

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँ जाँदै गरेको ना. १ ज २१४३ नम्बरको सुमो बिहान करिब ८ः३० बजे त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–भैँसे सडकखण्डमा सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ बस्ने अन्दाजी २५ वर्षीया अनुसा लामा, सोही स्थानकी अन्दाजी २२ वर्षीया जेशिका भनिने अस्मिता तिमल्सिना र चन्द्रनिगाहपुर–३ बस्ने अन्दाजी ५० वर्षीय बमबहादुर वाईबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

यसैगरी, दुर्घटनामा परि घाइते हुनेहरूमा सुमो चालक रौतहट चन्द्रनिगाहपुर–४ का अन्दाजी ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रनिगाहपुर–३ बस्ने अन्दाजी १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छाधोज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button