तीजमा पशुपतिनाथका चार स्थानबाट दर्शनको व्यवस्था
काठमाडौँ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको छलफलमा यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लाइनको व्यवस्था गर्न लागेको जानकारी दिइयो ।
छलफलमा पहिलो लाइन कोटेश्वर–तीन कुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको जानकारी गराइयो ।
यस्तै दोस्रो लाइन मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ भने तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै चौँथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ ।
यस्तै कोषले तीजका दिन यही असोज १ गते बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएकोले पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन आग्रह गरेको छ ।
छलफलमा कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले तीज पर्व व्यवस्थित गर्न कोषले आवश्यक सबै तयारी गरेको जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्